भलिबल कप्तान मानबहादुरले लिए सन्न्यास
काठमाडौँ। नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठले सन्न्यास घोषणा गरेका छन् ।
श्रेष्ठले आइतबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै सन्न्यासको घोषणा गरेका हुन् । मानबहादुरले घरेलु भलिबल त्रिभुवन आर्मी क्लबबाट खेल्दै आएका छन् ।
सन् २०१७ मा नेपालको पुरुष टिमले एभिसी सिनियर मेन्स सेन्ट्रल जोन भलिबलमा तेस्रो हुँदै कांस्य जित्दा मानबहादुर टिमका सदस्य थिए ।उनले गत वर्ष चीनमा भएको १९ औं एसियाडबाट नेपालको कप्तानी गरेका थिए । मानबहादुर दुई पटक एसियाड खेल्ने दुई खेलाडीमध्ये एक हुन् ।

‘मैले राष्ट्रिय भलिबल टिमको कप्तान पद त्याग्ने र राष्ट्रिय टिमको खेलाडीबाट अवकाश लिने निर्णय लिएको छु । यो निर्णय लिन सजिलो त थिएन तर अब आउने नयाँ पुस्ताका लागि मार्ग प्रस्तु गर्नका लागि निर्णय लिएको हुँ’, मानबहादुरले भिडियोमा भनेका छन् ।२७ वर्षीय मानबहादुरले नेपालका लागि अन्तर्राष्ट्रिय बिच भलिबलसमेत खेलेका छन् । उनले दुई पटक नेपाललाई बीच भलिबलमा रजत पदक दिलाएका छन् ।













