भारतीय उद्योगी–व्यवसायीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान – Sagarmathapana:: Online News Portal

भारतीय उद्योगी–व्यवसायीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान

   २०८३ आश्विन ३ गते  

काठमाडौं।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी र व्यापारका नयाँ अवसर खोज्न भारतीय उद्योगी तथा व्यावसायिक नेताहरूलाई आह्वान गरेका छन्।

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीका लागि अहिले उपयुक्त वातावरण बन्दै गएको बताएका हुन्।

उनले नेपालको आर्थिक रूपान्तरणमा भारतीय निजी क्षेत्रलाई साझेदार बन्न आग्रह गर्दै नेपालमा यसअघि नै लगानी गरिरहेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न तथा नयाँ लगानीकर्तालाई नेपाली बजारमा प्रवेश गर्न आह्वान गरे।

सरकार सुशासन, आर्थिक समृद्धि र लगानी सहजीकरणलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्दै वाग्लेले लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधारलाई तीव्रता दिइएको बताए।

उनका अनुसार डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यका कृषि उत्पादन, वेलनेस पर्यटन तथा उत्पादनमूलक क्षेत्र नेपालका उदीयमान लगानी क्षेत्र हुन्।

“भारतीय व्यवसायीले नेपाललाई बजार मात्र नभई रणनीतिक साझेदारका रूपमा हेर्नुपर्छ,” अर्थमन्त्री वाग्लेले भने।

वार्षिक बजेट, कर सुधार तथा विभिन्न नीतिगत पहलमार्फत लगानीका बाधा हटाउने प्रयास भइरहेको जानकारी दिँदै उनले नेपालमा लगानीका लागि आवश्यक सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा सहभागी भारतीय उद्योगी तथा व्यावसायिक नेताहरूले नेपालमा लगानीका सम्भावनाप्रति चासो व्यक्त गर्दै लगानी नीति, सुविधा तथा सम्भावित अवसरबारे जानकारी लिएका थिए।

भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले नेपाल–भारत आर्थिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा भारतीय पक्षसँग छलफल गरिरहेका छन्। विशेषगरी व्यापार, कनेक्टिभिटी तथा ऊर्जा क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा उच्चस्तरीय छलफल भइरहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै