दसैँसम्म मात्रै टिक्छ वर्तमान सरकार : दुर्गा प्रसाईँ
काठमाडौं।मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान सरकार दसैँसम्म मात्रै टिक्ने दाबी गरेका छन्।
आइतबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले सरकार जुन बाटोबाट सत्तामा आएको हो, त्यही बाटोबाट बाहिरिने टिप्पणी गरे। उनले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको आरोप लगाउँदै मुलुकको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको दाबी गरे।
प्रसाईँले वर्तमान व्यवस्थाप्रति नागरिक निराश बन्दै गएको र केही व्यक्तिहरू आत्मदाहजस्ता चरम कदम चाल्न बाध्य भएको आरोप पनि लगाए। उनले सरकार जनताको भावना बुझ्न असफल भएको भन्दै राजनीतिक परिवर्तनको आवश्यकता औँल्याए।
पत्रकार सम्मेलनमा उनले आफूलाई राज्यले अनावश्यक रूपमा धरपकड गरेको तथा फसाउने प्रयास भइरहेको दाबी गर्दै त्यस्ता प्रयास सफल नहुने बताए।
यसअघि झापाबाट काठमाडौं आएका प्रसाईँले निषेधित क्षेत्रमा सार्वजनिक अभिव्यक्ति दिन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। केही समयपछि प्रहरीले उनलाई घरमै पुर्याएर छाडेको थियो। त्यसलगत्तै उनले आफ्नै निवासमा पत्रकार सम्मेलन गरी सरकार र समसामयिक राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गरेका हुन्।












