काठमाडौं।चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने उद्देश्यसहित विदेश च्याप्टर गठन प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाएको छ। नेपाली चलचित्र, कला, साहित्य तथा सांस्कृतिक गतिविधिहरू विश्वव्यापी रूपमा विस्तार हुँदै गएको सन्दर्भमा संघले विदेशमा रहेका चलचित्र पत्रकारहरूलाई संस्थागत रूपमा जोड्ने पहल थालेको हो।
संघका अनुसार विभिन्न देश तथा क्षेत्रका लागि संयोजक तोक्दै च्याप्टर गठनको प्रक्रिया सुरु गरिएको छ। अमेरिकाका लागि दाङ शाखाका संस्थापक अध्यक्ष किसन रेग्मी, क्यानडाका लागि संघका पूर्व उपाध्यक्ष श्याम अर्याल, जापानका लागि पूर्व सचिव उत्तम गौडेल, युरोप क्षेत्रका लागि मकवानपुर शाखाका पूर्व अध्यक्ष मणिराज गौतम, अष्ट्रेलियाका लागि सदस्य दीपेन्द्र घिमिरे, बेलायतका लागि सदस्य दीपश्न लुईटेल तथा कतारका लागि चलचित्र पत्रकार कमल साउदलाई संयोजकको जिम्मेवारी दिइएको छ।


संघले विदेशमा रहेका नेपाली चलचित्र पत्रकारहरूलाई एकीकृत गर्दै नेपाली चलचित्र क्षेत्रको प्रचार–प्रसार, सूचना आदानप्रदान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।
विदेश च्याप्टर गठनसँगै संघको गतिविधि अन्तर्राष्ट्रिय स्तरमा विस्तार हुने विश्वास गरिएको छ। साथै, यस पहलले नेपाली चलचित्र उद्योगलाई विश्व समुदायसँग जोड्न र विदेशमा रहेका नेपाली चलचित्रकर्मी तथा पत्रकारबीच सहकार्यको वातावरण सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




