मेनु
Flash News

कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्म छनोट हुनु गौरवको विषय : कार्यवाहक प्रमुख डंगोल

काठमाडौं ।काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले नेपाली फिचर फिल्म पहिलो पटक विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा छनोट हुनु देशकै लागि ऐतिहासिक उपलब्धि र गर्वको विषय भएको बताएकी छन् ।

कान्स फिल्म फेस्टिभलमा सहभागी भई स्वदेश फर्किएपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाली चलचित्र क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण पहिचान बनाएको उल्लेख गरिन् ।

उनका अनुसार इतिहासमै पहिलो पटक नेपाली फिचर फिल्म कान्समा छनोट हुनु चलचित्र क्षेत्रका लागि ठूलो सफलता हो र यसले नेपाली फिल्मलाई विश्व बजारमा पुर्‍याउन सहयोग गर्नेछ ।

डंगोलले भनिन्, “नेपालीहरूको लागि एकदमै महत्वपूर्ण कुरा कान्स फिल्म फेस्टिभलमा नेपाली फिचर फिल्म छनोट हुनु हो। यो इतिहासमै पहिलो पटक भएको हो, जसले गर्व गर्ने क्षण दिएको छ।

उनले काठमाडौं महानगरपालिकाले क्रियटिभ सेक्टरलाई व्यवस्थित गर्न आवश्यक कार्यविधि पारित गरिसकेको जानकारी पनि दिइन् । उनका अनुसार चलचित्र, कला तथा सिर्जनात्मक उद्योगलाई व्यवस्थित रूपमा अघि बढाउन कानुनी तथा नीतिगत संरचना आवश्यक हुन्छ ।

त्यस्तै, उनले काठमाडौं महानगरले पहिलो पटक ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्न लागेको विषयमा पनि जानकारी गराइएको बताइन् । यसले सहरको सांस्कृतिक र सिर्जनात्मक गतिविधिलाई थप प्रोत्साहन गर्ने उनको विश्वास छ ।