काठमाडौं।चलचित्र पत्रकार संघ नेपाल ले आफ्नो २७औँ वार्षिक उत्सव तथा स्थापना दिवस तथा २४औँ राष्ट्रिय चलचित्र पत्रकारिता दिवस आज विविध कार्यक्रमसहित मनाउँदैछ। यसै अवसरमा ‘नेशनल फिल्म जर्नालिज्म अवार्ड–२०८३’ समेत आयोजना गरिने भएको छ।
संघका अध्यक्ष समीर बलामी ले सम्पूर्ण चलचित्र पत्रकार, संस्थापक अध्यक्ष, पूर्व पदाधिकारी, केन्द्रीय कार्यसमिति, शाखा समिति तथा देशभर क्रियाशील श्रमजीवी चलचित्र पत्रकारहरूलाई शुभकामना व्यक्त गरेका छन्।


अध्यक्ष बलामीले २०४९ सालदेखि संगठित प्रयास सुरु भई वि.सं. २०५६ साल जेठ ७ गते स्थापना भएको चलचित्र पत्रकार संघ नेपालले नेपाली चलचित्र पत्रकारितालाई संस्थागत, मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।
उनले बदलिँदो समयसँगै चलचित्र पत्रकारिताको भूमिका अझ जिम्मेवार बन्दै गएको उल्लेख गर्दै सत्य, तथ्य र व्यावसायिक आचरणप्रति पत्रकारहरूको प्रतिबद्धता अझ सुदृढ हुनुपर्नेमा जोड दिएका छन्।


यस वर्षको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार विभिन्न विधामा प्रदान गरिँदैछ। कार्यक्रममा स्वर्गीय दिनेश सिटौला लाई राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान प्रदान गरिनेछ।
त्यस्तै, अनन्त वाग्ले लाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान–२०८३’, जयन सुब्बा मानन्धर र कुबेर गिरी लाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०८३’ प्रदान गरिने भएको छ।
यसैगरी, सुरक्षा भट्टराई लाई ‘स्व. दिनेश सिटौला स्मृति राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३’, वैकुण्ठराज पराजुली लाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८३’ तथा मिलन डंगोल लाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’ प्रदान गरिने कार्यक्रम रहेको संघले जनाएको छ।
संघले यस विशेष अवसरले चलचित्र पत्रकारितामा समर्पित श्रमजीवी पत्रकारहरूको योगदानको सम्मान गर्दै नेपाली चलचित्र उद्योगको समृद्धि र व्यावसायिक विकासमा थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरेको छ।





