स्थिर सरकारको आशाले सेयर बजारमा उछाल,नेप्सेमा एकैदिन तीन सर्किट – Sagarmathapana:: Online News Portal

स्थिर सरकारको आशाले सेयर बजारमा उछाल,नेप्सेमा एकैदिन तीन सर्किट

   २०८२ फाल्गुन २५ गते  

काठमाडौँ।प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदै जाँदा त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ। खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकल बहुमत नजिकको नतिजा आउन थालेपछि स्थिर सरकार बन्ने अपेक्षाले लगानीकर्तामा अभूतपूर्व उत्साह देखिएको हो।

सोमबार बजार खुल्नेबित्तिकै सेयर खरिद गर्ने लगानीकर्ता अत्यधिक बढेपछि बिक्री गर्ने पक्ष नहुँदा बजारमा तुरुन्तै सर्किट ब्रेक लाग्यो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) खुल्नासाथ करिब एक मिनेटमै पहिलो सर्किट लागेपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो।

पुनः खुलेको बजारमा फेरि एक मिनेटभित्रै परिसूचक ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लाग्दै ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो। त्यसपछि पुनः खुलेको बजारमा थप १ प्रतिशत उछाल आएर कुल ६ प्रतिशत वृद्धि भएपछि तेस्रो सर्किट लाग्दै आजका लागि कारोबार बन्द गरिएको छ।

आज NEPSE Index १६२.९३ अंकले बढेर २,८७५.४३ विन्दुमा पुगेको छ। बजारमा २५३ कम्पनीको सेयर कारोबार हुँदा करिब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सामान्य अवस्थामा करिब ४ घण्टा चल्ने बजार आज भने सर्किटका कारण जम्मा तीन मिनेट मात्र सञ्चालन भएर बन्द भयो।

चुनावअघि नै बजारले राजनीतिक परिवर्तनको संकेत दिइरहेको विश्लेषकहरू बताउँछन्। धेरै लगानीकर्ताले रास्वपाको स्पष्ट बहुमत आएपछि राजनीतिक अस्थिरता अन्त्य हुने, नीतिगत स्थिरता कायम हुने र अर्थतन्त्र सुधार हुने अपेक्षा गरेका छन्।

यस्तै, रास्वपाले आफ्नो चुनावी घोषणापत्रमा सेयर बजारको दिगो सुधार र अन्तर्राष्ट्रिय स्तरको बजार बनाउने प्रतिबद्धता जनाएको थियो। सम्भावित अर्थमन्त्रीका रूपमा अर्थशास्त्री Swarnim Wagle को नाम चर्चामा आउनुले पनि लगानीकर्ताको विश्वास बढाएको विश्लेषकहरू बताउँछन्।

आजको कारोबारमा २५३ कम्पनीमध्ये २५२ कम्पनीको सेयरमूल्य बढेको छ भने केवल Reliance Spinning Mills को सेयरमूल्य मात्र घटेको छ। उक्त कम्पनीको १० कित्ता कारोबार हुँदा प्रतिकित्ता १०.२० रुपैयाँले मूल्य घटेको देखिएको छ।

समूहगत सूचकतर्फ व्यापार समूह सबैभन्दा धेरै ७.७३ प्रतिशतले बढ्यो। त्यस्तै लगानी समूह ७.०६ प्रतिशत, बैंकिङ समूह करिब ७ प्रतिशत, विकास बैंक समूह करिब ६ प्रतिशत, होटल तथा पर्यटन समूह करिब ६ प्रतिशत, जलविद्युत समूह करिब ७ प्रतिशतले बढेका छन्। जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा तथा अन्य समूहमा पनि उल्लेख्य वृद्धि देखिएको छ।

बजार विश्लेषकका अनुसार चुनावपछि सुरु भएको यो उछालले आगामी दिनमा पनि बजारमा बुल ट्रेन्ड जारी रहने संकेत देखिएको छ। धेरै लगानीकर्ताले निकट भविष्यमा नेप्सेले नयाँ अलटाइम हाई रेकर्ड बनाउने सम्भावना रहेको दाबी गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै