फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग, एनपिजेए कास्कीको ‘फोटो पत्रकार अक्षयकोष’मजबुत बन्दै – Sagarmathapana:: Online News Portal

फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग, एनपिजेए कास्कीको ‘फोटो पत्रकार अक्षयकोष’मजबुत बन्दै

   २०८२ फाल्गुन ४ गते  

पोखरा।नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ का लागि यूकेमा क्रियाशील गोर्खा मिडियाका प्रवन्ध निर्देशक तथा फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग प्रदान गरेका छन्।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–५,रिभान जन्मथलो भई हाल यूकेलाई कर्मथलो बनाउँदै आएका तमुले अक्षयकोषका लागि नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन्। आहा रारा पोखरा गोल्डकपमा सहभागी हुन नेपाल आएका क्रममा उनले उक्त रकम एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई हस्तान्तरण गरेका हुन्।

तमु धिं यूके तथा सहारा यूकेको मिडिया तथा फोटो संयोजकको जिम्मेवारी समेत सम्हालिरहेका तमु प्रतियोगिताका अवसरमा नेपाल आएका हुन्। नेपाल बसाइका क्रममा उनले विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय सहभागिता जनाइरहेका छन्।

यसैबीच, सहारा क्लब पोखराले २५ औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको अवसरमा शनिबार उनलाई रजत जयन्ती सम्मान प्रदान गरेको छ। प्रतियोगिताको विकास र प्रवर्द्धनमा फोटो पत्रकारितामार्फत विशेष योगदान पुर्‍याएको भन्दै क्लबले माला, दोसल्ला र सम्मानपत्रसहित तमुलाई सम्मानित गरेको हो।

रकम ग्रहणपछि एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङले अक्षयकोषमा सहयोग पुर्‍याएकोमा दाताप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले कोषको लक्ष्य प्राप्तिमा महत्वपूर्ण टेवा पुग्ने बताए। उनका अनुसार संकलित रकम फोटो पत्रकारहरूको वृत्तिविकास तथा क्षमता अभिवृद्धिमा खर्च गरिनेछ।

फोटो पत्रकारहरूको पेशागत सुदृढीकरणका उद्देश्यले स्थापना गरिएको उक्त अक्षयकोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी तथा संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै