प्रभु केवलकारको ३८ लाख बढी अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा
काठमाडौं।प्रभु ग्रुप्स एण्ड कम्पनीज् अन्तर्गत पर्यटन प्रवर्द्धन तथा केवलकार निर्माणको उद्देश्यले स्थापना भएको प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा ल्याएको छ ।
कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार कुल ३८ लाख १५ हजार २० कित्ता अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री खुला गरिएको हो । उक्त शेयर प्रतिकित्ता न्यूनतम १५० रुपैयाँ वा सोभन्दा माथि बढाबढ मूल्यमा खरिद गर्न सकिनेछ । इच्छुक आवेदकले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

यसअघि कम्पनीले गत कात्तिक ९ देखि मंसिर १५ गतेसम्म १:२.६३ अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो । सो अवधिमा बिक्री हुन नसकी बाँकी रहेको शेयरलाई अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । लिलामीमा सहभागिता जनाउन चाहने लगानीकर्ताले आगामी फागुन १२ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड तथा हाईड्रो होल्डिङ्गस लिमिटेडलगायत संस्थागत लगानीकर्ताको मुख्य लगानी रहेको प्रभु केवलकारले हाल विभिन्न पर्यटन केन्द्रमा केवलकार परियोजना अघि बढाइरहेको छ । बुटवल–पाल्पा जोड्ने सिद्धार्थ केवलकार परियोजना व्यवसायिक सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ । साथै बाजुराको बडीमालिका मन्दिर र चितवनको इच्छाकामना क्षेत्रमा निकट भविष्यमा केवलकार सञ्चालन गर्ने तयारीसमेत भइरहेको छ ।
कम्पनीको गत पुस २६ मा सम्पन्न वार्षिक साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । आईपीओ बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ भने केयर रेटिङ नेपालसँग क्रेडिट रेटिङ सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
आईएसओ ९००१:२०१५ प्रमाणपत्र प्राप्त गरेको कम्पनी ऋणमुक्त तथा निरन्तर मुनाफामा सञ्चालन भइरहेको जनाएको छ । लिलामी शेयरमा आवेदन दिन इच्छुक व्यक्ति वा संस्थाले कम्पनीको रजिष्टर्ड कार्यालय, का.म.न.पा.–३२, तीनकुने, काठमाडौंमा आवेदन दिन सक्ने वा कम्पनीको वेबसाइटबाट आवेदन फाराम प्राप्त गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।













