एमालेबाट उम्मेदवारी दर्ता गर्न सुनसरी आइपुगे अबुल हुसैन अन्सारी
धरान।नेपाली काङ्ग्रेसका प्रभावशाली नेता अबुल हुसेन अन्सारी नेकपा एमालेमा प्रवेश गरेकै दिन प्रतिनिधि सभा सदस्यको टिकट पाएर सुनसरी क्षेत्र नं–४ आइपुग्दा उहाँलाई स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणले भव्य स्वागत–सम्मान गरेका छन्।
आज नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यको मनोनयन दर्ता गर्नका लागि एमाले नेता अबुल हुसैन अन्सारी आफ्नो गृह जिल्ला सुनसरी आइपुगेका हुन्।स्वागत कार्यक्रममा एमालेका स्थानीय तथा जिल्ला तहका नेताहरू, युवा कार्यकर्ता र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।


स्वागत कार्यक्रममा बोल्दै नेता अन्सारीले नेकपा एमालेको नीतिमा विश्वास गर्दै पार्टी प्रवेश गरेको बताउँदै सुनसरी क्षेत्र नं–४ का जनताको समृद्धि, विकास र रोजगारीका पक्षमा इमान्दार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।उनले सबै वर्ग र समुदायलाई समेटेर अघि बढ्ने आफ्नो प्राथमिकता रहने पनि उल्लेख गरे।
एमालेका स्थानीय नेताहरूले अन्सारीको आगमनले सुनसरी–४ मा पार्टी थप बलियो हुने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा विजयी गराउन एकताबद्ध भएर लाग्ने जनाएका छन्।
सुनसरी संवाददाता,सगरमाथापाना












