अलबिदा क्याप्टेन अरुण…
काठमाडौँ । निजी हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेस्टी हेली सर्भिसेसका वरिष्ठ क्याप्टेन अरुणले बुधबार आफैंले उडाएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाए ।
क्याप्टेन अरुणले यसअघि दुई पटक हेलिकप्टर उडानकै क्रममा मृत्युलाई जितेका थिए ।
यसअघि क्याप्टेन अरुणले उडाएको कर्णाली एयरको हेलिकप्टरमाथि जुम्ला–कालिकोट रेन्जमा पुगेपछि तत्कालीन माओवादी विद्रोहीले गोली प्रहार गरेका थिए ।
द्वन्द्वकालमा माओवादीले प्रहार गरेको गोलीले अरुणको हेलिकप्टर छेडेर वारपार भए पनि उनले सकुशल अवतरण गरेका थिए । त्यो घटनामा अरुणले पहिलो पटक मृत्युलाई जितेका थिए ।
त्यसपछि अरुणले २०७० असोज दोस्रो साता काठमाडौंबाट लुक्ला उडाएर लगेको एयर डाइनेस्टीकै हेलिकप्टर लुक्ला विमानस्थलको तारबारमा ठोक्किएर दुर्घटनामा परेको थियो ।
तीन यात्रु सवार उनको हेलिकप्टरमा त्यसबेला क्षति पुगे पनि सबै सकुशल थिए । त्यो दुर्घटनामा क्याप्टेन अरुणले दोस्रो पटक मृत्युलाई जितेका थिए ।
तर, बुधबारअरुणले तेस्रो पटक लेखान्त टार्न सकेनन्, सदाका लागि अस्ताए ।
अरुणले बुधबार काठमाडौंबाट रसुवा स्याफ्रुबेसी उडाएको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा दुर्घटनामा पर्यो । उनीसँगै चार चिनियाँ यात्रुले पनि ज्यान गुमाए ।

‘क्याप्टेन अरुण एकदमै कुल क्याप्टेन हुनुहुन्थ्यो, मैले उहाँलाई कहिल्यै पनि रिसाएको वा उग्र व्यवहार गरेको देखिनँ,’ क्याप्टेन अरुणसँग साढे दुई दशक सँगत गरेका हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेलले अनलाइनखबरसँग भने, ‘आनन्दले काम गर्ने, लप्पनछप्पन नगर्ने, अनि एकदमै इमानदार र पाको पाइलट गुमाउनुपर्दा दुःखी छौं ।’
ललितपुर पुल्चोकका स्थायीवासिन्दा ५८ वर्षीय क्याप्टेन अरुणले रुसबाट पाइलट तालिम कोर्स पूरा गरेका थिए । तालिम सकेर आएपछि उनले क्याप्टेन नारायणसिंह पुनले सञ्चालन गरेको कर्णाली एयरबाट हेलिकप्टर उडान करियर सुरु गरेका थिए ।
‘यो करिब ३० वर्षअघिको कुरा हो । क्याप्टेन पुनको कमान्डमा काम गरेर पोख्त हुँदै गएका क्याप्टेन अरुण कर्णाली एयर बन्द भएपछि एयर डाइनेस्टीमा आबद्ध हुनुभएको थियो,’ कँडेलले भने, ‘त्यसपछि उहाँले निरन्तर हेलिकप्टर उडाइरहनुभएको थियो । मेरो अनुमानमा क्याप्टेन अरुणले १५ देखि १६ हजार घण्टा हेलिकप्टर उडाइसक्नुभएको थियो ।’
कँडेलका अनुसार क्याप्टेन अरुण उड्डयन नियम अक्षरशः पालना गर्थे । सहकर्मी पाइलट, कम्पनीका कर्मचारी, नियामक निकायका अधिकारीहरू सबैसँग सधैं अत्यन्त भद्र रूपमा प्रस्तुत हुने उनको बानीको सबैले प्रशंसा गर्थे ।क्याप्टेन अरुणका श्रीमती र दुई छोरी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः५४ बजे उडेको एयर डाइनेस्टीको हेलिकप्टर तीन मिनेटमै ‘एयर ट्राफिक कन्ट्रोल’ (एटीसी) सँग सम्पर्क विच्छेद भएको थियो ।












