सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालटार ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम
काठमाडौं- तारकेश्वर नगरपालिकामा बढ्दो सवारी दुर्घटनालाई नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरी प्रभाग नेपालटार र अस्थायी ट्राफिक प्रहरी पोस्ट धर्मस्थलीको संयुक्त आयोजनामा मोटरसाइकल र सार्वजनिक बस चालक लक्षित जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
दिउँसो आयोजित उक्त कार्यक्रममा सहभागी चालकहरूलाई ट्राफिक नियमको पालना गर्नुपर्ने आवश्यकताबारे मौखिक जानकारी दिइयो। साथै दुर्घटना न्यूनीकरणका उपायहरू समेटिएका सुझाव–नोट पनि वितरण गरिएको ट्राफिक प्रहरी प्रभाग नेपालटारका प्रमुख सुरेश कार्कीले जानकारी दिए।


उनका अनुसार पछिल्लो समय क्षेत्रभित्र सवारी दुर्घटना दर वृद्धि हुँदै गएपछि दुर्घटना रोकथामका लागि विशेष अभियानको रूपमा यो कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमका क्रममा “ट्राफिक नियमको पालना गरौँ, आफैं पनि बचौँ, अरूलाई पनि बचाऔँ” भन्ने सन्देशसहित चालकहरूलाई अनिवार्य रूपमा हेल्मेट प्रयोग, सवारीको गति नियन्त्रण, कागजात अद्यावधिक राख्ने तथा मदिरा सेवनपछि सवारी नचलाउन समेत विशेष अनुरोध गरियो।
स्थानीयवासीहरूले यस्ता जनचेतनामूलक कार्यक्रमले सवारी अनुशासनमा सुधार आउने विश्वास व्यक्त गरेका छन्।














