नबिल बैंक र एनआइबी–जिएबीच एसएमईलाई अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन रणनीतिक साझेदारी – Sagarmathapana:: Online News Portal

नबिल बैंक र एनआइबी–जिएबीच एसएमईलाई अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन रणनीतिक साझेदारी

   २०८२ मंसिर १२ गते  

काठमाडौँ।साना तथा मझौला उद्यम (एसएमई)लाई अनुदान तथा प्राविधिक सहयोग प्रदान गर्ने उद्देश्यसहित नबिल बैंक र नेपाल इन बिजनेस–ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच रणनीतिक साझेदारी भएको छ। उक्त साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र एनआइबी–जिए कार्यक्रम प्रमुख रतिस बस्न्यातले हस्ताक्षर गरेका हुन्।

एनआइबी–जिएमार्फत फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) ले ४० वटा साना तथा मझौला उद्यमलाई करीव ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउण्ड) बराबरको अनुदान उपलब्ध गराउनेछ। यसले उत्पादन तथा सेवा विस्तारमार्फत उद्यमलाई निर्यातमुखी व्यवसायतर्फ उन्मुख गर्न सहयोग गर्ने लक्ष्य राखिएको छ।

साझेदारी कार्यक्रममा बोल्दै सिइओ ज्ञवालीले परियोजनाले एसएमई उद्यमीको मनोबल वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने बताए। नबिल बैंकले आफ्नो पक्षबाट एसएमई कर्जा तथा च्यानल फाइनान्सिङ सुविधा उपलब्ध गराउन अघि बढिरहेको उनले जानकारी दिए।

एनआइबी–जिएका प्रमुख बस्न्यातले पारदर्शी ढंगले अनुदान व्यवस्थापनमा नबिल बैंकको सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै यस्तो सहकार्य मोडल अन्य सरकारी तथा विकास परियोजनामा पनि प्रभावकारी बन्न सक्ने धारणा व्यक्त गरे।

साझेदारीअनुसार नबिल बैंक कार्यक्रमको वित्तीय साझेदारका रूपमा उद्यमीलाई अनुदान वितरण तथा वित्तीय व्यवस्थापन प्रक्रिया सञ्चालन गर्नेछ। पाँच वर्षे सो परियोजना यूके इन्टरनेशनल डेभलपमेन्टको वित्तीय सहयोगमा डिएआई ग्लोबल यूके द्वारा कार्यान्वयन भइरहेको छ।

२६८ शाखा, ३२१ एटिएम र २५ लाखभन्दा बढी सेवाग्राहीसहित नबिल बैंक देशभर आफ्नो सेवा विस्तार गर्दै आएको छ। अन्तर्राष्ट्रियस्तरको सेवा र नवीन बैंकिङ प्रविधि अपनाउने क्रममा बैंक अग्रणी भूमिकामा रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै