मन्त्री कुलमान घिसिङलाई प्रभु साहको प्रश्न : देश भनेको काठमाडौं महानगरमात्रै हो र ? – Sagarmathapana:: Online News Portal

मन्त्री कुलमान घिसिङलाई प्रभु साहको प्रश्न : देश भनेको काठमाडौं महानगरमात्रै हो र ?

   २०८२ आश्विन २३ गते  

काठमाडौं।आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बाढी र डुवानको मारमा परेको मधेशलाई केन्द्र सरकारले पूरै बेवास्ता गरेको भन्दै आलोचना गरेका छन् ।बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले आफू भर्खरै मधेशबाट काठमाडौं फर्किएको उल्लेख गर्दै मधेश अझैपनि बाढी र डुबानको मारमा रहेको भएपनि केन्द्र सरकारको उपस्थिति नदेखिएको गुनासो पोखे ।

उनले भने,‘म अविरल वर्षा हुँदा गृहजिल्लामा थिएँ, मधेश पूरै बाढी, डुवान र कटानको मारमा थियो, तर केन्द्र सरकार कतैपनि देखिएन । बरु स्थानीय सरकारको उपस्थिति देखियो, तर केन्द्र सरकारको कुनैपनि उपस्थिति देखिएन । म कुलमानजीलाई सोध्न चाहन्छु–के देश भनेको काठमाडौं महानगरमात्रै हो र ? यदि होईन भने तपाईंको निकाय किन मधेश बाढी, कटान र डुवानको मारमा हुँदा देखापरेनन् ?’

साहले उर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङलाई प्रश्न गरे, “मधेशमा नदीका बांधहरू भत्किरहदा तपाईको नदी नियन्त्रणको हाकिम किन देखा परेन, राजमार्गहरू भत्केर आवागमन अवरुद्ध हूदा सड़क बिभाग किन आएन, पुरै सहर दुवान हुदा शहरी बिभागको किन सक्रिय भएन ? के देश भनेको काठमाडौं महानगरमात्रै हो ? हैन भन्ने कुलमानजी तपाई एकपटक मधेश डुबेको हेर्न आऊनूस । तपाई जस्तो व्यक्तित्व सरकारमा सहभागी हुँदा जनताले उत्साह महशुस गरेको भएपनि अहिले विपद्को बेलामा काठमाडौंकेन्द्रित मात्रै हुँदा धेरै जनताले विभेदको महसुस गरेको छ ।”

उनले भने,‘अविरल वर्षाको कारण सिंगो देश नै विपद्मा थियो, सरकार काठमाडौंमा मात्रै देखियो, देश भनेको काठमाडौंमात्रै होईन नि, आजपनि मधेश पूरै डुबानको मारमा छ, खानेपानीको समस्या छ, विजुली समस्या छ, शहरहरु जलमग्न छन् । पानीको निकास छैन । मधेश मुख्य मुख्य शहरहरु अहिलेपनि डुवानमा छन् । यस्तो बेलामा सरकार देखिनुपर्ने होईन ? खोई तपाईंहरुको उपस्थिति ?’

उनले बाढीको कारण मधेशमा बाँध भत्किएको, कयौं बाटो/घाटो भत्काएको अवस्था हुँदापनि सरकार नदेखिनु मधेशलाई बेवास्ता गर्नु भएको टिप्पणी गरे । मन्त्री घिसिङ नेतृत्वका मन्त्रालयहरु नै प्रत्यक्ष सरोकार राख्ने भएकोले विपद्को बेलामा जनताले साथ खोजेको भएपनि केन्द्र सरकारको उपस्थिति नदेखेपछि जनतामा एक किसिमको आक्रोश रहेको उनको भनाई छ ।
प्राकृतिक विपत्तिको सबै तहका सरकारले मिलेर सामना गर्ने भएपनि केन्द्र सरकार उद्धार, राहत र पूनःस्थापनाको लागि मधेशमा नदेखिनु दुःखदायी भएको उनको आरोप छ । अहिले पनि कतिपय राजमार्गमा सडक सञ्जाल अवरुद्ध भएको र दुर्घटनाका घट्नाहरु बढ्न थालेको पनि उनले स्मरण गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै