ओलीको निर्देशन :‘विद्या भण्डारीको राजनीतिक सक्रियता रोक्नुपर्छ’
काठमाडौं–प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक गतिविधि रोक्न मातहतका संरचनालाई कडा निर्देशन दिएका छन्।
बालुवाटारमा बिहीबार राति १०:४० बजे सुरु भएर बिहान ३:३० बजे सम्म चलेको गोप्य बैठकमा ओलीले सातै प्रदेश इन्चार्ज र अध्यक्षलाई ‘जसरी पनि समानान्तर राजनीतिक गतिविधि रोक्नुपर्छ’ भन्दै प्रत्यक्ष निर्देशन दिएका छन्।
बैठकमा सहभागी एक नेताका अनुसार, ओलीले विद्या भण्डारीको पक्षमा लागेका नेताहरूलाई सम्झाउने, फकाउने र नमाने कारबाही गर्ने रणनीति बनाएका छन्।



४८ घण्टामै कारबाही
निर्देशन आएपछि ४८ घण्टा पनि नबित्दै एमालेले लुम्बिनी प्रदेश युवा संघ अध्यक्ष सुरज खरेललाई पार्टीबाट निष्कासन गरिसकेको छ। खरेलले सामाजिक सञ्जालमार्फत ओलीविरुद्ध टिप्पणी गरेका थिए।
भण्डारीको सम्भावित अभियान र ओलीको चिन्ता
भण्डारीले मदन भण्डारी फाउण्डेशनमार्फत राजनीतिक अभियान झापाबाट सुरु गर्ने तयारी भइरहेको रिपोर्ट बालुवाटार बैठकमा प्रस्तुत गरिएको थियो। त्यसपछि ओलीले वडा तहसम्म पुगेर ‘भण्डारी पक्षको प्रभाव निस्तेज पार्न’ निर्देशन दिएका छन्।
ओलीको भनाइ
‘एमालेको लोकप्रियतामाथि प्रहार गर्ने तत्वहरू सक्रिय छन्,’ ओलीले बैठकमा भनेका थिए, ‘यो गुटलाई अहिले नै सिध्याउनुपर्छ। नसिध्याइए गुटले पार्टी सिध्याउँछ।’
भदौमा विधान महाधिवेशन
एमालेको विधान महाधिवेशन आगामी भदौ २०–२२ मा हुँदैछ। भण्डारीको सदस्यता खारेज भएकाले उनी त्यसमा सहभागी हुन पाउने छैनन्।
बैठकमा सहभागी नेताहरूका अनुसार, कोसी र बागमती प्रदेशमा भण्डारीको प्रभाव बढी देखिने भएकाले त्यहाँ विशेष रणनीति अपनाइने निर्णय भएको छ।
ओलीले नेताहरूलाई भनेका थिए, ‘यो त सानो हावाको झोँक्का हो। तपाईंहरू अल्मलिनु पर्दैन, आ–आफ्नो क्षेत्रमा पार्टी बलियो बनाउन लाग्नुहोस्।’













