काठमाडौंमा अनेरास्ववियुको २४औँ महाधिवेशन: निर्वाचन प्रक्रिया आजबाट सुरु
काठमाडौं।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को २४औँ महाधिवेशन अन्तर्गत बन्दसत्रको बैठक आज बिहान ८ बजेबाट सुरु भएको छ, जसअन्तर्गत निर्वाचन प्रक्रिया औपचारिक रूपमा अगाडि बढाइएको छ।
आइतबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रले संगठनको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदनमा समूहगत छलफल गरी पारित गरिसकेको छ। त्यसपछि अब नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
अध्यक्ष मण्डलका सदस्य तथा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार, महाधिवेशनले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई अनुमोदन गरिसकेको छ।
नयाँ आयोग थप, अनुशासनदेखि नीति अनुगमनसम्म
यसपटक विशेष कुरा के छ भने, यसअघि रहेका आयोगहरूसँगै एक नयाँ आयोग—नीति तथा अनुगमन आयोग थप गरिएको छ। अब अनुशासन, लेखा र नीति तथा अनुगमन आयोग गरी तीनवटा आयोग रहने छन्। नयाँ आयोगमा प्रमुख, उपप्रमुख र सचिवसहित १३ सदस्यीय संरचना बनाइएको छ।
सचिवालय र निर्वाचन प्रक्रिया
महाधिवेशनले ४९ सदस्यीय सचिवालय बनाउने निर्णय पनि गरिसकेको छ। यी सदस्यहरू प्रतिनिधि हलबाटै चुनिनेछन्। केन्द्रीय सदस्य भने प्रदेश क्लस्टर प्रणालीअनुसार निर्वाचनबाट चयन गरिनेछ।
यो महाधिवेशनले अनेरास्ववियुमा सांगठनिक रूपान्तरणसँगै भावी नेतृत्वको दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ।












