पूर्वमा भीषण बाढी, दुई हजार घर डुबानमा
विराटनगर। अविरल वर्षापछि पूर्वका विभिन्न नदीमा आएको बाढीले मोरङमा एक जनाको मृत्यु भएको छ । दुई हजारभन्दा बढी घर डुबाउँदा सयौं सर्वसाधारण विस्थापित भएका छन् ।
मोरङको गछिया खोलामा आएको बाढीले बगाएर सुन्दर हरैंचा–६ का ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो । खोला तर्ने क्रममा उनलाई बाढीले बगाएर तीन किलोमिटर तल पुर्याएको थियो । बाढीले मोरङमा मात्रै करिब १५ सय जना प्रभावित भएका छन् । सिंघिया र केसलिया खोलामा तटबन्ध नहुँदा विराटनगरवासी हरेक वर्ष डुबानमा पर्दै आएका छन् ।
झापामा हजारभन्दा बढी घर डुबानमा परेका छन् । अविरल वर्षाले सप्तकोसी नदीमा जलस्तर बढेपछि कोसी ब्यारेजसँगै सुनसरी, सप्तरी र उदयपुरमा सतर्कता अपनाइएको छ । उदयपुरमा बाढीले सडक बगाउँदा यातायात अवरुद्ध भएको छ ।












