नेपालएयरलाइन्सका पाइलट हडतालमा उत्रिए-उडान अवरुद्ध हुँदा यात्रुहरू अलपत्र – Sagarmathapana:: Online News Portal

नेपालएयरलाइन्सका पाइलट हडतालमा उत्रिए-उडान अवरुद्ध हुँदा यात्रुहरू अलपत्र

   २०८१ मंसिर १० गते  

काठमाण्डौ। नेपाल वायुसेवा निगम(नेपालएयरलाइन्स)सेवासुविधाको माग गर्दै निगमका विमान चालक (पाइलट)ले बिदामा बसेर विरोध जनाएपछि आइतवार निगमको विभिन्न गन्तव्यका करिब आधा दर्जन उडान प्रभावित भएका थिए ।

निर्धारित समयमा उडान नभएर अलपत्र परेका यात्रुलाई निगमले गन्तव्यमा लगिएको जनाएको छ ।उडान अवरुद्ध हुँदा विभिन्न गन्तव्यमा जाने सयौँ यात्रु समस्यामा परेका थिए ।

भारतको नयाँ दिल्ली, मुम्बई, दुबईलगायत गन्तव्यमा उडानहरू प्रभावित भएको निगमले जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार पाइलटको असहयोगका कारण उडान अवरुद्ध हुँदा काठमाडौँमा रोकिएका यात्रुलाई गन्तव्यमा लगिएको जनाएको छ ।

यात्रुलाई आइतवार राति मुम्बई र आज बिहान दुबई लगिएको छ । उनले पाइलटको मागका सम्बन्धमा निगम व्यवस्थापन गम्भीर रहेको, यस सम्बन्धमा तालुक मन्त्रालय र अर्थ मन्त्रालयसँग आवश्यक समन्वय तथा छलफल भइरहेकाले छिट्टै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

निगममा कार्यरतमध्ये केही क्याप्टेनले यही मङ्सिर ६ गतेदेखि ‘सिक रिपोर्ट’ र ‘अर्जेन्ट वर्क रिपोर्ट’ गर्दै आएकामा मङ्सिर ८ गते शनिवारदेखि उडानमा प्रभाव देखिन थालेको थियो । निगममा रहेका ४३ क्याप्टेनमध्ये आठ जनाले विरोध जनाएको बुझिएको छ ।

निगमको अन्तर्राष्ट्रिय उडानमा दुई वाइडबडी र दुई न्यारोबडी विमान छन् । निगमका पाइलटहरूको सेवासुविधा सम्बन्धमा निगम व्यवस्थापनका तर्फबाट विभिन्न चरणमा अद्यावधिक जानकारी गराइएको र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थमन्त्रालयमा प्रक्रियामै रहेको निगमले उल्लेख जनाएको छ ।

निगमको उडानमा पर्न गएको असरले आर्थिक नोक्सानी मात्र नभई निगमको साख र इज्जतमा समेत नकारात्मक प्रभाव परेको भन्दै यसलाई व्यवस्थापनले गम्भीर रुपमा लिएको निगमको अपरेसन्स विभागका कामु निर्देशक दीपुराज ज्वारचनद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

निगमलाई पर्ने आर्थिकलगायत सम्पूर्ण नोक्सानीको सम्बन्धमा नियमानुसार हुने जनाउँदै सम्पूर्ण विमानचालकलाई आ–आफ्नो रोस्टरअनुसार उडान सञ्चालन गर्न सूचित गरिएको छ । यता निगमका स्थायी पाइलटले भने करारका कर्मचारीलाई बढी सेवा सुविधा दिएको भन्दै हडताल गरेका हुन् ।

हडतालका कारण काठमाडौंबाट अन्तर्राष्ट्रिय गन्तव्य जाने र नेपाल आउने यात्रु प्रभावित भए । नेपाल नागरिक उड्ड्यन प्राधिकरणले कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माण गरिरहेको र पर्यटकीय सिजनको चापमा उडान नहुँदा यात्रुहरु विमानस्थलमा अलपत्र परेका थिए ।

प्राधिकरणले काठमाडौंबाट ३० प्रतिशत उडान कटौती गर्दा हवाइ भाडा उच्च छ । राति १० देखि बिहान आठ बजेसम्म विमानस्थल बन्द हुँदा त्यसको मार यात्रुहरुले व्योहोर्नु परेको छ । त्यसमा पनि निगमका पाइलटहरु अघोसितरूपमा हडतालमा उत्रिएका कारण यात्रुहरुले हैरानी व्यहोर्नु परेको छ ।

निगमका आठ जना स्थायी पाइलट बिरामी र घरायसी बिदा भन्दै अचानक बिदामा बसेपछि त्यसले वायुसेवा निगमका उडान आइतबार प्रभावित भएको हो । दुई वाइडबढी र दुई न्यारोबडी विमान भएको निगमका आठ पाइलट आन्दोलनमा उत्रिएका कारण मुम्बई जाने जहाज आठ घण्टा डिले तथा दुवई उडान क्यान्सिल भएको थियो ।

सरकारले अत्यावश्यक सेवामा बन्द हड्ताल गर्न निषेध गरेको छ । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) अनुसार स्थल तथा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवामा हड्ताल गर्न नपाइने उल्लेख छ ।

तर, पाइलटहरुले अघोसित रुपमा बिरामी–घरायासी काम भन्दै सेवा ठप्प पारेका हुन् । यता निगमले पाइलट आन्दोलनको विषयमा यात्रुहरूलाई समयै जानकारी नगराई विमानस्थलमा उपस्थिति गराई अलपत्र पारेको थियो ।

निगमलाई पाइलटहरुको आन्दोलन थाहा हुँदै हुँदै पनि आफूहरुलाई विमानस्थलमा बोलाएर अलपत्र पारेको भन्दै यात्रुहरु आक्रोशित विमानस्थल अशान्त भएको थियो । यसअघि पनि निगमको ‘क्याबिन क्रु’ को आन्दोलनका कारण उडान प्रभावित भएको थियो ।

उसै कहिले महिनौ ‘सी–चेक’ गर्न पठाएको र नियमित उडान गर्न नसकेको भन्दै बदनाम भएको निगम आइतबार आफ्नै पाइलटका कारण आलोचित हुन पुगेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै