कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा – Sagarmathapana:: Online News Portal

कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा

   २०८१ मंसिर ४ गते  

काठमाडौं ।निर्देशक विशाल भण्डारी सहित सगुन पाण्डे र हिरण बस्नेतको निर्माणमा कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन’को औपचारिक घोषणा भएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रस्तुतकर्ता थ्री प्रोडक्सनले शो आउने जानकारी दिएको हो

यस अघिको ‘कमेडी क्लब विथ च्याम्पियन’को नाम परिवर्तन गरिएको छ । पत्रकार सम्मेलनमा निर्देशक भण्डारीले नयाँ सेटअप र संरचनामा शो दर्शकमाझ आउन लागेको बताए ।

उक्त अवसरमा शोमा हास्य प्रस्तुति दिने कलाकारको लाइनअप समेत सार्वजनिक गरियो । प्रभात लामा, भरतमणि पौडेल, कैलाश कार्की, सन्तोष थापा, पवन भट्टराई, सजन श्रेष्ठ, सुमन कार्की, मेक्सम गौडेल र सुमन कोइरालाले पनि दर्शकलाई हँसाउनेछन् । अध्यक्षको रुपमा दीपाश्री निरौला निरन्तर छिन् ।

शो आउने मितिको औपचारिक घोषणा भने गरिएको छैन । ‘शो चाँडै ल्याउने तयारीमा छौं । यसको औपचारिक घोषणा चाँडै हुनेछ’, निर्देशक भण्डारीले भने । उक्त अवसरमा शोको रोचक ट्रेलर समेत सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले यो शोमार्फत लुक एन्ड फिल, स्टुडियो सेटअप, स्क्रिप्टिङ र प्रस्तुतिलाई उचाईमा लैजान सकिने बताए । ‘हामीले नेपालमै अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम बनाउन हरदम कोसिस गरिरहेका छौं’, उनले भने, ‘भविष्यमा हेर्ने तरिकामा पनि विविधता प्रस्तुत गर्दै दर्शकलाई नजिक जोड्ने प्रयास हुनेछ ।’

उनले अन्तर्राष्ट्रिय प्लाटफर्ममा समेत प्रसारण हुनेगरी कार्यक्रम निर्माणको तयारी भएको बताए । शोसँग लामै समय सहकार्य हुने समेत कँडेलले बताए । ‘पर्दामा देखिने कार्यक्रमलाई पर्दा पछाडिबाट साथ दिन सके अझै गुणस्तरीय हुन्छ’, उनले भने ।

शोकी अध्यक्ष दीपाश्रीले बिकाउनुभन्दा पनि टिकाउनु मूलमन्त्र शोको रहेको बताइन् । ‘हास्यव्यंग्य गरेर पेट पाल्न एकदमै चुनौतीपूर्ण छ’, उनले भनिन्, ‘गाह्रोका बाबजुद पनि दर्शकलाई खुसी पार्न सके सबैभन्दा राम्रो । यसका लागि हामी लागिपरेका छौं । बिकाउनभन्दा पनि टिकाउनु मूलमन्त्र हो ।’

शोबाट आफूले पनि सिकिरहेको उनले बताइन् । ‘नयाँ पुस्तासँग धेरै सिकिरहेको छु । आउने सिजनबाट पनि धेरै कुरा सिक्नेछु’, उनले भनिन् ।

शोको लेखकको रुपमा सन्तोष खनाल, सन्देश देवकोटा, रजनीश अर्याल लगायतलाई पनि चिनाइएको थियो ।

‘यसपटक हामीले डेढ घण्टा हँसाउने प्रयास गर्नेछौं’, निर्देशक भण्डारीले भने, ‘यसपटक भव्य सेटमा कार्यक्रम सञ्चालन हुनेछ । एक वर्षसम्म ५२ एपिसोड तयार गर्ने र त्यसपछि ‘कमेडी च्याम्पियन’मा जुट्ने निर्माता कम्पनी थ्री प्रोडक्सन प्रालिको तयारी छ । यो शो हिमालय टिभीमा र युट्युबमा ओएसआर रियालिटी च्यानलबाट स्ट्रिमिङ हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै