EN
मेनु
Flash News

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान

काठमाडौं।विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल दुईदिने भ्रमणका लागि शुक्रबार राति अमेरिकाको वासिङ्टन डी.सी. प्रस्थान गरेको छ।

असोज १९ र २० गते (अक्टोबर ५–६) हुने भ्रमणका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सहयोग विस्तार, पुनर्निर्माण, वित्तीय पारदर्शिता तथा FATF को ‘ग्रे लिस्ट’बाट नेपालको बहिर्गमन र बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने जनाइएको छ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय तथा International Development Finance Corporation (DFC) का उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै अमेरिकी निजी क्षेत्रका अग्रणी लगानीकर्तासँग पनि उच्चस्तरीय छलफल हुने बताइएको छ।

हालै भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेका भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालन गर्ने विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल गरिनेछ।

त्यसैगरी सडक, विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्दै नेपालभित्र रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्ने उद्देश्यले विकास साझेदार र निजी क्षेत्रको लगानी आकर्षित गर्ने विषयलाई पनि भ्रमणका क्रममा प्राथमिकता दिइनेछ।

अर्थमन्त्री वाग्लेको यो भ्रमणलाई नेपालका विकास साझेदार तथा अन्तर्राष्ट्रिय निजी क्षेत्रसँग आर्थिक सहयोग र लगानी विस्तारका विषयमा छलफल गर्ने अवसरका रूपमा हेरिएको छ।