काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध पार्टीकै बागमती प्रदेशका सात जना सांसदले गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेका छन्।
सांसदहरूले काठमाडौं जिल्ला अदालतमा वारेसमार्फत फिरादपत्र दर्ता गर्दै लिङ्देनले सार्वजनिक कार्यक्रममा आफूहरूको चरित्रहत्या र मानमर्दन हुने गरी अपमानजनक अभिव्यक्ति दिएको दाबी गरेका छन्। उनीहरूले कानुनबमोजिम कारबाहीसँगै क्षतिपूर्तिको समेत माग गरेका छन्।
मुद्दा दायर गर्नेमा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, प्रदेश मन्त्रीहरू गिरबहादुर तामाङ, राजेन्द्र प्रजापती र राजु विष्ट तथा सांसदहरू मोनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङ छन्।
फिरादपत्रअनुसार बागमती प्रदेशमा सरकार गठनका क्रममा राप्रपाका १२ सांसदमध्ये सात जनाले नेकपा (एमाले)का किरण थापा मगर नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेका थिए। उक्त निर्णयपछि राप्रपाका तीन सांसद सरकारमा सहभागी भएका थिए।
सोही राजनीतिक निर्णयलाई लिएर अध्यक्ष लिङ्देनले काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा आयोजित काठमाडौं जिल्ला समितिको अधिवेशन उद्घाटन कार्यक्रममा आफूहरूमाथि अपमानजनक टिप्पणी गरेको सांसदहरूको दाबी छ।
फिरादपत्रमा लिङ्देनले राप्रपाका केही सांसदलाई लक्षित गर्दै ‘पार्टी नीतिविपरीत अरू दलको ओछ्यान तताउन गए’ र ‘भेडाबाख्राजस्तो बिके’ जस्ता अभिव्यक्ति दिएको उल्लेख गरिएको छ। उक्त अभिव्यक्ति सञ्चारमाध्यममार्फत समेत सार्वजनिक भएको सांसदहरूको दाबी छ।
विशेषगरी सांसद मोनिका श्रेष्ठले आफू महिला जनप्रतिनिधि भएको अवस्थामा ‘अरू दलको ओछ्यान तताउन गएको’ भन्ने आशयका शब्द प्रयोग गरेर आफ्नो चरित्रहत्या तथा सामाजिक प्रतिष्ठामा आँच पुर्याउने काम भएको दाबी गरेकी छन्।
सांसदहरूले लिङ्देनको उक्त अभिव्यक्ति मुलुकी अपराध संहिता, २०७४ को दफा ३०५ र ३०६ विपरीत भएको दाबी गर्दै दफा ३०७ को उपदफा (१) र (२) बमोजिम कारबाहीको माग गरेका छन्।
फिरादपत्रमा बेइज्जती पुष्टि भए कानुनबमोजिम हुने सजायका साथै आफूहरूलाई पुगेको क्षतिका आधारमा मनासिब क्षतिपूर्ति उपलब्ध गराउन र मुद्दा दायर गर्दा लागेको सम्पूर्ण खर्चसमेत विपक्षीबाट भराउन माग गरिएको छ।
अब उक्त विवाद अदालतमा प्रवेश गरेसँगै लिङ्देनको अभिव्यक्तिले कानुनी रूपमा बेइज्जतीको कसुर पूरा गर्छ वा गर्दैन भन्ने विषय अदालतको प्रक्रियाबाट टुंगो लाग्नेछ।



