EN
मेनु
Flash News

बाकस’बाट फिल्ममा डेब्यु गर्दै मोडल बिक्रम बुढाथोकी

काठमाडौं।मोडल तथा म्युजिक भिडियो कलाकार बिक्रम बुढाथोकी फिल्म क्षेत्रमा प्रवेश गर्ने भएका छन्। नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘बाकस’ मा उनी कलाकारका रूपमा अनुबन्धित भएका हुन्।

बुढाथोकीले लामो समयदेखि म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन्। उनले हालसम्म पाँच सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। विशेषगरी गायक प्रमोद खरेलका दुई सयभन्दा बढी गीतका भिडियोमा सहकार्य गरेका बुढाथोकी म्युजिक भिडियो क्षेत्रमा परिचित अनुहार हुन्।

म्युजिक भिडियोमार्फत दर्शकमाझ आफ्नो पहिचान बनाएका बुढाथोकीले अब भने ठूलो पर्दाबाट अभिनय यात्रालाई अगाडि बढाउन लागेका हुन्। ‘बाकस’ उनको पहिलो फिल्म हुनेछ।

फिल्मको निर्माण टिमले कलाकार तथा प्राविधिक टोली छनोटको काम अझै जारी रहेको जनाएको छ। यसअघि फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा र सुपला सापकोटा अनुबन्धित भइसकेका छन्।

त्यस्तै, बाल कलाकारतर्फ रेखा भण्डारी, अविरल चौलागाईं, सनाज चौलागाईं र सगुन खड्काले अभिनय गर्ने निर्माण पक्षले जनाएको छ।

फिल्म ‘बाकस’ लाई नवीन पन्तले लेखन तथा निर्देशन गर्दैछन्। निर्माणसँग सम्बन्धित अन्य विवरण भने क्रमशः सार्वजनिक गरिने बताइएको छ।