मेनु
Flash News

कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग

हेटौंडा।नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले बागमती प्रदेशमा कृषि यान्त्रीकरण तथा आधुनिक कृषि प्रविधिको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारसमक्ष ११ बुँदे माग अघि सारेको छ ।

नामियाका अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री रमा आले मगरलाई भेटेर ज्ञापनपत्र बुझाउँदै कृषि यान्त्रीकरणलाई कृषि क्षेत्रको महत्वपूर्ण लगानीका रूपमा स्थापित गर्न माग गरेको हो।

संघले कृषि यान्त्रीकरण प्रविधिलाई बीउ, मल र सिँचाइजस्तै महत्वपूर्ण कृषि सामग्रीका रूपमा मान्यता दिई सोहीअनुसार नीति तथा कार्यक्रम निर्माण गर्न माग गरेको छ । कृषि यन्त्र तथा प्रविधिको प्रयोगले उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुका साथै उत्पादन लागत घटाउन सहयोग गर्ने भएकाले यान्त्रीकरणलाई कृषि विकासको अभिन्न अंगका रूपमा अघि बढाउनुपर्ने संघको भनाइ छ।

नामियाले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत कृषि यान्त्रीकरण प्रविधिको विकासका लागि आवश्यक अध्ययन गरी सहकार्यको स्पष्ट मोडालिटी निर्माण गर्न पनि माग गरेको छ । कृषि यान्त्रीकरण उत्कृष्टता केन्द्र, उच्चस्तरीय कृषि मेसिनरी पार्क तथा कृषि यान्त्रीकरणसम्बन्धी प्रदर्शनी र तालिम केन्द्र स्थापना गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको संघले जनाएको छ ।

त्यस्तै, कृषि यान्त्रीकरण तथा कृषि उपजसम्बन्धी उद्योगलाई प्रोत्साहन गर्न बैंकको ब्याजदरमा अनुदान, उद्योग स्थापनाको पहिलो पाँच वर्ष आयकर छुट तथा कोल्ड स्टोर र कृषि उद्योगका लागि विद्युत् महसुलमा सहुलियत दिनुपर्ने माग गरिएको छ ।

किसानले आफ्नो आवश्यकता, खेती प्रणाली र भौगोलिक अवस्थाअनुसार कृषि यन्त्र, उपकरण तथा प्रविधि छनोट गर्न पाउने व्यवस्था गर्नुपर्ने नामियाको माग छ । अनुदान रकम किसानकै खातामा पठाउने प्रणाली लागू गर्नुपर्ने तथा कृषि मेसिनरी र प्रविधि खरिदका लागि वित्तीय सुविधा विस्तार गर्दै ब्याज अनुदानको व्यवस्था गर्नुपर्ने संघले जनाएको छ ।

‘एक पालिका, एक वर्कसप’

बागमती प्रदेशका दुर्गम क्षेत्रमा कृषि मेसिनरी मर्मतका लागि पर्याप्त वर्कसपको अभाव रहेको भन्दै नामियाले ‘एक पालिका, एक वर्कसप’को अवधारणा कार्यान्वयन गर्न माग गरेको छ ।

यसैगरी, बीउ तथा बेर्नामा आत्मनिर्भरता बढाउन ‘एक पालिका, एक नर्सरी घर’को अवधारणा अघि बढाउनुपर्ने संघको माग छ ।

कृषि क्षेत्रमा महिलाको ठूलो सहभागिता रहेको भन्दै नामियाले महिला मैत्री कृषि यन्त्र तथा प्रविधिको विकास र प्रवर्द्धनमा समेत विशेष जोड दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

संघका महासचिव अर्जुन लुइँटेलले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको असरलाई ध्यानमा राख्दै जलवायु मैत्री तथा गुणस्तरीय कृषि प्रविधिको विकासमा सरकारको लगानी आवश्यक रहेको बताए ।

छुट्टै बजेट र कस्टम हायरिङ सेन्टरको माग

नामियाले कृषि यान्त्रीकरणका लागि प्रदेश सरकारले छुट्टै पर्याप्त बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ ।

महँगा कृषि मेसिन व्यक्तिगत रूपमा खरिद गर्न नसक्ने साना तथा सीमान्तकृत किसानलाई लक्षित गर्दै प्रदेशभर ‘कस्टम हायरिङ सेन्टर’ विस्तार गरी भाडामा कृषि मेसिन उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

दुर्गम क्षेत्रमा विगतदेखि वितरण तथा सञ्चालनमा रहेका कृषि मेसिनरी तथा औजारको मर्मतसम्भारका लागि दक्ष तथा अर्धदक्ष जनशक्ति उत्पादन गर्न व्यावसायिक तालिम सञ्चालन गरी रोजगारी सिर्जना गर्नुपर्ने संघको धारणा छ ।

नामियाका सचिव श्रीकृष्ण अधिकारीले कृषि मेसिनरी मर्मतसम्भारका लागि आवश्यक जनशक्ति उत्पादन र सीप विकासको विषयलाई पनि ज्ञापनपत्रमा समेटिएको जानकारी दिए ।

उत्पादन लागत घटाउन यान्त्रीकरणमा जोड

संघले बढ्दो उत्पादन लागत, कृषि क्षेत्रमा श्रम अभाव, कृषियोग्य जमिनको खण्डीकरण तथा जलवायु परिवर्तनबाट सिर्जित चुनौती समाधानका लागि कृषि यान्त्रीकरण महत्वपूर्ण माध्यम बन्न सक्ने जनाएको छ ।

कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि यान्त्रीकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राख्नुपर्ने संघको निष्कर्ष छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री रमा आले मगरले नामियाले उठाएका विषयहरू जायज रहेको भन्दै मन्त्रालयले प्राथमिकताका साथ आवश्यक काम अघि बढाउने आश्वासन दिएकी छन् ।

नामियाका अध्यक्ष शर्माले मन्त्रालयसँग विगतमा भएका अभ्यास तथा आगामी दिनमा गर्नुपर्ने कामबारे समेत छलफल भएको बताए । मन्त्रालय सकारात्मक रहेकाले कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्र सँगसँगै अघि बढ्ने विश्वास रहेको उनको भनाइ छ ।

ज्ञापनपत्र बुझाउन नामियाका अध्यक्ष शर्मा, महासचिव लुइँटेल, सचिव अधिकारी तथा सल्लाहकार इन्जिनियर मधुसुदन सिंह बस्न्यातलगायतको टोली काठमाडौंँबाट हेटौंडा पुगेको थियो ।