मेनु
Flash News

त्रिपुरेश्वर बस आगलागीका घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं-काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगजनी गर्दा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालकको सोमबार राति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

मृतक चालकको पहिचान भने अझै खुलेको छैन। यसअघि प्रहरीले चालकलाई बागमती गाउँपालिकाका दावा लामा भएको बताएको थियो। घटनास्थलबाट दावा लामाको नाममा रहेको लाइसेन्ससमेत फेला परेको थियो। तर पछि दावा लामा नाम गरेका व्यक्ति प्रहरीको सम्पर्कमा आएर आफ्नो लाइसेन्स हराएको जानकारी दिएपछि मृतक चालकको वास्तविक पहिचान अन्य हुनसक्ने प्रहरीले जनाएको छ।

सोमबार दिउँसो त्रिपुरेश्वर चोकमा ट्राफिक प्रहरीसँग विवाद भएपछि चालकले सडकमा बस तेर्साएका थिए। पछि बसस्टपमा लगेर यात्रुहरूलाई ओरालेपछि उनले बसभित्रै आगजनी गरेको प्रहरीले जनाएको छ। आगलागीमा चालकसमेत घाइते भएका थिए।

घटनाको छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई घटनाबारे चाँडो प्रतिवेदन बुझाउन भनिएको छ।