माथिल्लो त्रिशूली–१ सुरुङबाट थप ११ शव निकालियो, त्रिशूली–१ आयोजना क्षेत्रबाट मृतकको संख्या २४ पुग्यो – Sagarmathapana:: Online News Portal

माथिल्लो त्रिशूली–१ सुरुङबाट थप ११ शव निकालियो, त्रिशूली–१ आयोजना क्षेत्रबाट मृतकको संख्या २४ पुग्यो

   २०८३ आश्विन ३ गते  

काठमाडौं।माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट शनिबार थप ११ वटा शव निकालिएको छ।

आयोजनाको अडिट–३ टनेलमा खोजी गर्ने क्रममा जालीमा अल्झिएको तथा लेदो र हिलोमा च्यापिएको अवस्थामा ती शव फेला परेको उद्धार टोलीले जनाएको छ।

आयोजनाका प्रतिनिधिसहित नेपाली सेना, सशस्त्र प्रहरी बल र प्राविधिक सम्मिलित संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा शवहरू फेला पारेको हो। उद्धार टोलीका अनुसार शनिबार फेला परेका सबै ११ शवलाई सफलतापूर्वक सुरुङबाट बाहिर निकालिएको छ।

शनिबार थप ११ शव निकालिएसँगै माथिल्लो त्रिशूली–१ आयोजना क्षेत्रबाट हालसम्म संकलन गरिएका शवको संख्या २४ पुगेको छ।

यसअघि सोही आयोजना स्थलबाट एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको थियो। त्यसपछि भने थप कुनै व्यक्तिलाई जीवित उद्धार गर्न नसकिएको उद्धार टोलीले जनाएको छ।

घटनास्थलमा अहिले पनि नेपाली सेना, सशस्त्र प्रहरी बल र प्राविधिकहरूको संयुक्त टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। सुरुङभित्र थप व्यक्ति फसेको हुन सक्ने आशंकामा टोलीले विभिन्न क्षेत्रमा खोजी गरिरहेको जनाएको छ।

उद्धार कार्य जारी रहेकाले घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै