चितवनमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत फेला
चितवन।चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ।
निकुञ्जको विषहजारी पोस्टनजिकै रोनाल्डो मृत फेला परेको हो। घटनाबारे जानकारी पाएलगत्तै निकुञ्जले अनुसन्धान अघि बढाएको जनाएको छ।

![]()
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रोनाल्डोको मृत्युको कारण हालसम्म यकिन हुन सकेको छैन। मृत्युको वास्तविक कारण पत्ता लगाउन आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी दिए।
रोनाल्डो चितवन राष्ट्रिय निकुञ्जमा प्रभावशाली तथा चर्चित जंगली भाले हात्तीका रूपमा परिचित थियो। निकुञ्जको विवरणअनुसार २०८३ असारसम्म निकुञ्जको केन्द्रमा जन्मिएका ६९ वटा छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान रहेका छन्।

निकुञ्जमा रहेका जंगली हात्तीको प्रजनन तथा वंश विस्तारमा रोनाल्डोको महत्वपूर्ण योगदान रहेको उक्त विवरणले देखाउँछ। त्यसैले रोनाल्डोको मृत्युले वन्यजन्तु संरक्षणमा चासो राख्नेहरूमा चिन्ता बढाएको छ।
रोनाल्डोको मृत्यु स्वाभाविक कारणले भएको हो वा अन्य कुनै कारणले भन्ने विषय भने अनुसन्धानपछि मात्रै स्पष्ट हुने निकुञ्जले जनाएको छ। घटनाको थप विवरण अनुसन्धानको निष्कर्षपछि सार्वजनिक गरिने बताइएको छ।













