संविधान दिवस तथा राष्ट्रिय दिवस आज देशभर मनाइँदै – Sagarmathapana:: Online News Portal

संविधान दिवस तथा राष्ट्रिय दिवस आज देशभर मनाइँदै

   २०८३ आश्विन ३ गते  

काठमाडौं।नेपालको संविधान जारी भएको दिनको स्मरणमा आज असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ।


दिवसका अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष मूल समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको छ।

समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाललगायत सुरक्षा निकायले मार्चपास तथा विभिन्न प्रस्तुति प्रस्तुत गरेका छन्। कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी तथा सांस्कृतिक प्रस्तुतिसमेत प्रदर्शन गरिएको छ।

मूल समारोहमा मन्त्री, सांसद, सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ।


संविधान दिवसका अवसरमा देशका विभिन्न स्थानमा प्रभातफेरी, अन्तरक्रिया, सांस्कृतिक कार्यक्रम, दीप प्रज्वलन तथा अन्य कार्यक्रम आयोजना भइरहेका छन्।

नेपालको संविधानले संघीय शासन व्यवस्था, लोकतान्त्रिक गणतन्त्र, मौलिक हक तथा समावेशी राज्य व्यवस्थालाई संस्थागत गरेको छ। संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रूपमा समेत मनाउँदै आइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै