डस्टबिनमा फोहोर नफाले १५ हजारसम्म जरिबाना प्रस्ताव,संसदमा पुग्यो विधेयक – Sagarmathapana:: Online News Portal

डस्टबिनमा फोहोर नफाले १५ हजारसम्म जरिबाना प्रस्ताव,संसदमा पुग्यो विधेयक

   २०८३ आश्विन ३ गते  

काठमाडौं।सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले कडा जरिबानाको व्यवस्था प्रस्ताव गरेको छ। सरकारले सार्वजनिक स्थानमा राखिएको डस्टबिन प्रयोग नगरी फोहोर फाल्ने व्यक्तिलाई पटकअनुसार ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिबाना गर्ने प्रावधानसहितको विधेयक संसदमा दर्ता गरेको हो।

प्रस्तावित व्यवस्थाअनुसार पहिलो पटक डस्टबिन प्रयोग नगरी सार्वजनिक स्थानमा फोहोर फालेमा ५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ। दोस्रो पटक त्यस्तो कार्य दोहोरिएमा ५ हजारदेखि १० हजार रुपैयाँसम्म र तेस्रो वा त्यसपछि पनि दोहोरिएमा १५ हजार रुपैयाँसम्म जरिबाना गर्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी, जथाभावी फालिएको फोहोर उठाउन लागेको खर्चसमेत सम्बन्धित व्यक्तिबाट असुल गर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ।

विधेयकले स्थानीय तहलाई सार्वजनिक सडक, उद्यान, सार्वजनिक यातायात, बसपार्कलगायत स्थानमा बन्द ढक्कन भएका डस्टबिन राख्नुपर्ने जिम्मेवारी दिने प्रस्ताव गरेको छ। कुहिने, नकुहिने तथा जोखिमयुक्त फोहोरका लागि छुट्टाछुट्टै डस्टबिनको व्यवस्था गर्नुपर्ने प्रावधानसमेत प्रस्ताव गरिएको छ।

डस्टबिन तोडफोड गर्ने वा क्षति पुर्‍याउनेलाई पनि कडा जरिबाना गर्ने प्रस्ताव छ। त्यस्तो कार्य गरेमा १५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यवस्था विधेयकमा राखिएको छ।

सरकारले फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा सार्वजनिक स्थानको सरसफाइ कायम गर्ने उद्देश्यले यस्तो कानुनी व्यवस्था प्रस्ताव गरेको हो।

तर, यी प्रावधान तत्काल लागू हुने भने होइनन्। प्रस्तावित विधेयक संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कानुनी रूपमा लागू हुनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै