उपत्यकामा सार्वजनिक सवारीको लाइभ लोकेसन हेर्न ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप
काठमाडौं।काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको अवस्थिति र रुटबारे वास्तविक समयमै जानकारी दिने उद्देश्यले ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सञ्चालनमा आएको छ।
‘सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’को तेस्रो बैठकका अवसरमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले एपको उद्घाटन गरेकी हुन्।
एपमार्फत यात्रुले आफूले प्रयोग गर्न खोजेको सार्वजनिक सवारी कहाँ आइपुगेको छ, आफ्नो गन्तव्यसम्म पुग्न कति समय लाग्छ, सडकमा जामको अवस्था कस्तो छ र सम्बन्धित रुटको अवस्था के छ भन्ने जानकारी रियल टाइममा प्राप्त गर्न सक्नेछन्।
हाल जीपीएस जडान गरिएका करिब १ हजार २०० सार्वजनिक सवारी साधन प्रणालीमा आबद्ध भइसकेका छन्। आगामी दिनमा उपत्यकाभित्र सञ्चालन हुने अन्य सार्वजनिक सवारी साधनलाई समेत यस प्रणालीमा जोड्दै लैजाने योजना रहेको प्राधिकरणले जनाएको छ।
एप उद्घाटन कार्यक्रममा कार्यवाहक प्रमुख डङ्गोलले उपत्यकाको सार्वजनिक यातायातलाई सरल, सहज र पहुँचयुक्त बनाउनुपर्नेमा जोड दिइन्। उनले रात्रिकालीन बस सेवा विस्तार तथा विद्यार्थीका लागि बिहानैदेखि यातायात सञ्चालन गर्न स्थानीय तहबीच वित्तीय साझेदारी आवश्यक रहेको बताइन्।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक बस प्रयोग गर्दा यात्रुले वास्तविक सहजता महसुस गर्ने गरी प्रणाली विकास गर्न परिषद्ले आफ्नो क्षमता प्रयोग गर्नुपर्ने धारणा राखे।
प्राधिकरणका कार्यकारी अधिकृत कुबेर नेपालीका अनुसार चालु आर्थिक वर्षमा बस स्टप निर्धारण, नगदरहित भाडा प्रणाली तथा नौ सदस्यीय स्टेरिङ कमिटीमार्फत विभिन्न योजना कार्यान्वयन गरिनेछ।












