स्वास्थ्य बीमाको नयाँ आबद्धता र नवीकरण अब अनलाइनबाटै
काठमाडौं।स्वास्थ्य बीमा बोर्डले आज साउन २९ गतेदेखि स्वास्थ्य बीमासम्बन्धी सेवा थप प्रविधिमैत्री बनाउँदै नयाँ व्यवस्था लागू गरेको छ। अब नयाँ आबद्धता, बीमालेख नवीकरण तथा विवरण सच्याउनेलगायतका सम्पूर्ण काम अनलाइन ई–पोर्टलमार्फत मात्रै गर्न सकिने भएको छ।

![]()
बोर्डका अनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र (NID) वा अन्य परिचयपत्रका आधारमा घरमै बसेर आफैँ वा दर्ता सहयोगीमार्फत अनलाइन फाराम भर्न सक्नेछन्।
त्यस्तै, स्वास्थ्य बीमाको प्रिमियम रकम पनि अब खल्ती र connectIPS मार्फत अनलाइन भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।


परिवारका सदस्य थप्ने, ठेगाना परिवर्तन गर्ने तथा व्यक्तिगत विवरण सच्याउनेलगायतका कामका लागि सेवाग्राहीले सम्बन्धित कार्यालयमा धाउनुपर्ने बाध्यता हटेको बोर्डले जनाएको छ।
नयाँ व्यवस्थाले स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री, पारदर्शी र सहज बनाउनुका साथै सेवाग्राहीको समय र झन्झट बचत हुने अपेक्षा गरिएको छ।














