केही दिनमै ग्यास आपूर्ति सहज हुने सरकारको दाबी,अनावश्यक सञ्चय नगर्न आग्रह – Sagarmathapana:: Online News Portal

केही दिनमै ग्यास आपूर्ति सहज हुने सरकारको दाबी,अनावश्यक सञ्चय नगर्न आग्रह

   २०८३ श्रावण १९ गते  

काठमाडौं।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा देखिएको एलपी ग्यासको असहज अवस्था केही दिनभित्रै पूर्णरूपमा समाधान हुने जनाएको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै बजारमा ग्यास अभाव रहेको भन्ने विभिन्न सूचना र हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 

मन्त्रालयका अनुसार गत वर्षको तुलनामा हाल नियमित माग धान्न सक्ने परिमाणमा एलपी ग्यास आयात भइरहेको छ। साउन महिनादेखि पूर्ण सिलिन्डर वितरण सुरु भएपछि एक्कासि माग बढ्दा वितरण प्रणालीमा केही असहजता देखिएको भए पनि आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल आयल निगम, ग्यास उद्योगी र सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ। 

मन्त्रालयले उपभोक्तालाई आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ। साथै, वैकल्पिक सिलिन्डर नभएका उपभोक्तालाई प्राथमिकताका साथ ग्यास उपलब्ध गराउन नेपाल आयल निगम, ग्यास विक्रेता तथा डिलरहरूलाई निर्देशन दिइएको उल्लेख गरिएको छ। 

त्यस्तै, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ। बजार अनुगमनलाई पनि थप तीव्र बनाइएको मन्त्रालयको भनाइ छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै