डिआईजी भूपेन्द्र खत्रीद्वारा तुलसीपुर प्रहरीलाई अपराध नियन्त्रण र नागरिकमैत्री सेवामा जोड
काठमाडौं।लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी भूपेन्द्र बहादुर खत्रीले इलाका प्रहरी कार्यालय तुलसीपुरको अनुगमन गर्दै अपराध नियन्त्रण, शान्ति–सुरक्षा र प्रभावकारी प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।
अनुगमनका क्रममा उनले अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण, विपद् व्यवस्थापनलगायत समसामयिक विषयमा प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिएका हुन्।

डिआईजी खत्रीले प्रहरी सेवा परिणाममुखी, नागरिकमैत्री तथा प्रविधिमैत्री बनाउन सबै प्रहरी कर्मचारीले जिम्मेवारीबोधका साथ कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन्।
प्रदेश प्रहरी कार्यालयका अनुसार नागरिकको विश्वास जित्ने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा सुरक्षा व्यवस्थालाई सुदृढ गर्ने उद्देश्यका साथ उक्त अनुगमन तथा निर्देशन कार्यक्रम सञ्चालन गरिएको हो।












