दुर्गा प्रसाईंलाई रिहा गर्न भक्तपुर जिल्ला अदालतको आदेश
काठमाडौं।जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ। अदालतले सोमबार उनीविरुद्ध म्याद नथपी छाड्ने आदेश जारी गरेको हो।
आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराध, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर, साथै सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन शीर्षकमा अनुसन्धानका लागि म्याद थप गर्न प्रहरी सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत भक्तपुरमा उपस्थित भएको थियो।
तर अदालतले प्रहरीको म्याद थप माग अस्वीकार गर्दै प्रसाईंलाई म्याद नथपी रिहा गर्न आदेश दिएको हो।
प्रसाईंलाई आइतबार राति भक्तपुरस्थित आफ्नै निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले पक्राउ गरेको थियो। प्रहरीका अनुसार पछिल्लो समय परिस्थिति थप भड्काउने गतिविधि गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो।
प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पटक–पटक पक्राउ पर्दै आएका छन्।












