बूढानीलकण्ठमा प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच लामो छलफल, विषय गोप्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आइतबार बूढानीलकण्ठमा लामो भेटवार्ता भएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री शाह स्वयं सभापति लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका थिए। दुई नेताबीच केही समय लामो छलफल भए पनि भेटको एजेन्डा र निष्कर्षबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।
राजनीतिक वृत्तमा भने समसामयिक राष्ट्रिय मुद्दा, सरकारका प्राथमिकता तथा विशेषगरी सुकुम्बासी समस्या समाधानका विषयमा छलफल भएको अनुमान गरिएको छ। स्रोतका अनुसार पछिल्लो समय सुकुम्बासी समस्या समाधानमा सरकारले अपेक्षाअनुसार प्रभावकारी काम गर्न नसकेको भन्दै सभापति लामिछाने असन्तुष्ट रहेका छन्।
भेटवार्तापछि दुवै पक्षले कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्। त्यसैले छलफलको वास्तविक विषयवस्तु र सहमतिबारे थप विवरण आउन बाँकी रहेको छ।












