नेपालमा फेसलिफ्ट स्कोडा कुशाक सार्वजनिक,मूल्य रु. ५७.९० लाखबाट सुरु
काठमाडौं।स्कोडा नेपालले फेसलिफ्ट गरिएको नयाँ स्कोडा कुशाक एसयूभी नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। ‘Real Drivers Wanted’ ट्यागलाइनसहित आयोजित कार्यक्रममा कम्पनीका पदाधिकारी, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
नयाँ कुशाकको अनावरण एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल र एमएडब्लु एक्स्पान्जका प्रमुख कार्यकारी अधिकृत रौनक अग्रवालले संयुक्त रूपमा गरेका हुन्। कार्यक्रममा उनीहरूले कुशाक वास्तविक ड्राइभिङ अनुभवलाई प्राथमिकता दिने चालकहरूका लागि तयार गरिएको एसयूभी भएको बताए।


नयाँ कुशाक १.० लिटर र १.५ लिटर TSI इन्जिन विकल्पमा उपलब्ध छ। यसमा ८-स्पिड अटोमेटिक तथा DSG ट्रान्समिसन, उत्कृष्ट ड्राइभिङ नियन्त्रण र पछाडिको सिटमा मसाज सुविधाजस्ता प्रिमियम फिचर समावेश गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार स्कोडा कुशाकको प्रारम्भिक मूल्य रु. ५७ लाख ९० हजार निर्धारण गरिएको छ। साथै ‘Promise of 12’ योजनाअन्तर्गत देशभरका १२ वटा सेवा केन्द्रमार्फत वार्षिक मर्मतसम्भार सुविधा उपलब्ध गराइनेछ। यस योजनाअनुसार हरेक १२ महिना वा १२ हजार किलोमिटरमा केवल रु. १२ हजार को निश्चित शुल्कमा सर्भिसिङ गर्न सकिने व्यवस्था गरिएको छ।
कार्यक्रममा अध्यक्ष विष्णु कुमार अग्रवालले युरोपेली इन्जिनियरिङलाई नेपाली ग्राहकका लागि सहज मूल्यमा उपलब्ध गराउनु नै कुशाकको विशेषता भएको बताए। त्यस्तै, सीईओ रौनक अग्रवालले ग्राहकलाई गाडीको विशेषता आफैं अनुभव गर्न टेस्ट ड्राइभका लागि आमन्त्रण गरे।
स्कोडा नेपालका अनुसार उत्कृष्ट प्रदर्शन, युरोपेली डिजाइन, उन्नत प्रविधि र आकर्षक मूल्यको संयोजनले नयाँ कुशाकलाई आफ्नो सेग्मेन्टमा प्रतिस्पर्धी एसयूभीका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ। नेपालमा स्कोडा ब्रान्डको आधिकारिक प्रतिनिधित्व एमएडब्लु समूह अन्तर्गतको एमएडब्लु वृद्धि ले गर्दै आएको छ।













