भानु जयन्तीमा सुसेली साहित्यिक प्रतिष्ठानको रचना वाचन कार्यक्रम सम्पन्न – Sagarmathapana:: Online News Portal

भानु जयन्तीमा सुसेली साहित्यिक प्रतिष्ठानको रचना वाचन कार्यक्रम सम्पन्न

   २०८३ असार २८ गते  

काठमाडौं।आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा सुसेली साहित्यिक प्रतिष्ठानले दक्षिणकालीमा विशेष रचना वाचन कार्यक्रम आयोजना गरेको छ।

प्रतिष्ठानका अध्यक्ष रामराजा के.सी.को सभापतित्व, दक्षिणकाली नगरपालिका–४ का वडा अध्यक्ष पुष्कर खड्काको प्रमुख आतिथ्य तथा साहित्यकार शेखर अर्यालको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा भानुभक्त आचार्यको नेपाली भाषा तथा साहित्यमा पुर्‍याएको योगदानको स्मरण गर्दै कविता, मुक्तक तथा विविध साहित्यिक रचनाहरू प्रस्तुत गरिएका थिए।


कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार रामकनजी बस्नेतले आदिकवि भानुभक्तको जीवन, व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए भने कोषाध्यक्ष चन्द्रलाल तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन सविता के.सी.ले गरेकी थिइन्।

रचना वाचनमा केदारनाथ आचार्य, रमेश बलामी, सुसान्त के.सी., कृष्णकुमार श्रेष्ठ, शेखर अर्याल, तुषार अधिकारी, किरण नेपाली, महेन्द्रमान बलामी, आवेश मिश्र, ललिता तामाङ, सिवाङ्गी सुवेदी, आकाङ्क्षा बलामी, रिसिका बस्नेत, सारिका बलामीलगायत २० भन्दा बढी साहित्यकार तथा स्रष्टाहरूको सहभागिता रहेको थियो।


प्रतिष्ठानका अनुसार कार्यक्रमले भानुभक्त आचार्यप्रति सम्मान व्यक्त गर्नुका साथै दक्षिणकाली क्षेत्रका स्रष्टाबीच साहित्यिक सहकार्य, सिर्जनशीलता र सांस्कृतिक एकतालाई थप सुदृढ बनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै