दुई गोलसहित बेलिङ्घम चम्किए, इंग्ल्यान्ड विश्वकप २०२६ को सेमिफाइनलमा – Sagarmathapana:: Online News Portal

दुई गोलसहित बेलिङ्घम चम्किए, इंग्ल्यान्ड विश्वकप २०२६ को सेमिफाइनलमा

   २०८३ असार २८ गते  

काठमाडौं।जुड बेलिङ्घमको उत्कृष्ट दुई गोलको प्रेरणामा इंग्ल्यान्डले नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

मियामी स्टेडियममा शनिबार राति सम्पन्न क्वार्टरफाइनलमा नर्वेले ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपको गोलमार्फत अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा बेलिङ्घमले व्यक्तिगत कौशल प्रदर्शन गर्दै बराबरी गोल फर्काएपछि खेल १–१ को अवस्थामा पुगेको थियो। त्यसलगत्तै ह्यारी केनले गरेको गोल अफसाइडका कारण मान्यता पाएन।

दोस्रो हाफमा नर्वेका टोर्ब्योर्न हेग्गेमले गोल गरे पनि भिडियो सहायक रेफ्री (VAR) ले एर्लिङ हालान्डबाट फाउल भएको ठहर गर्दै गोल रद्द गरिदियो। त्यसपछि दुवै टोलीले निर्धारित समयमा थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समयमा मोर्गन रोजर्सको प्रहार नर्वेका गोलरक्षक ओर्यान नाइल्यान्डले नियन्त्रणमा लिन नसक्दा आएको रिबाउन्डमा बेलिङ्घमले निर्णायक गोल गर्दै इंग्ल्यान्डलाई २–१ को रोमाञ्चक जित दिलाए।

यस जितसँगै प्रशिक्षक थोमस टुखेलको नेतृत्वमा रहेको इंग्ल्यान्ड विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। अब इंग्ल्यान्डले जुलाई १५ मा एटलान्टामा हुने सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना वा स्विट्जरल्यान्डमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।

दुई गोलसहित खेलका नायक बनेका रियल म्याड्रिडका स्टार मिडफिल्डर जुड बेलिङ्घमले इंग्ल्यान्डको विश्वकप उपाधि यात्रालाई थप मजबुत बनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै