नाफामा रहेको डीडीसी डेढ अर्ब घाटामा पुग्नुमा कृषि मन्त्रालय जिम्मेवार’: पूर्व अध्यक्ष डा. क्षेत्री – Sagarmathapana:: Online News Portal

नाफामा रहेको डीडीसी डेढ अर्ब घाटामा पुग्नुमा कृषि मन्त्रालय जिम्मेवार’: पूर्व अध्यक्ष डा. क्षेत्री

   २०८३ असार २८ गते  

काठमाडौं।दुग्ध विकास संस्थान (डीडीसी) का पूर्व सञ्चालक समिति अध्यक्ष डा. वेदबहादुर क्षेत्रीले आर्थिक वर्ष २०७४/७५ सम्म नाफामा रहेको डीडीसी अहिले डेढ अर्ब रुपैयाँभन्दा बढी घाटामा पुग्नुमा मुख्य जिम्मेवार कृषि तथा पशुपन्छी विकास मन्त्रालय रहेको आरोप लगाएका छन्।

उनले आफू अध्यक्ष रहँदादेखि हालसम्म संस्थान सुधारका लागि कृषि मन्त्रालयसहित सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै आए पनि कुनै सुनुवाइ नभएको गुनासो गरे।

डा. क्षेत्रीका अनुसार उनी वि.सं. २०७८ देखि २०८० सम्म विषयगत विज्ञ तथा २०८० देखि २०८२ सम्म सञ्चालक समितिको अध्यक्षका रूपमा कार्यरत थिए। त्यस अवधिमा डीडीसीभित्र देखिएका बेथिति र अनियमिततालाई नीतिगत रूपमा समाधान गरी संस्थान सुधार गर्न खोज्दा आफूलाई निलम्बनसमेत गरिएको उनले बताए।

उनले काठमाडौँ दुग्ध वितरण आयोजना, बालाजुको प्लान्ट अपग्रेडसनका लागि अर्थ मन्त्रालयबाट उपलब्ध १५ करोड रुपैयाँको दुरुपयोग भएको आरोप लगाउँदै सो सम्बन्धी छानबिन प्रतिवेदन मन्त्रालयमा बुझाए पनि हालसम्म कुनै कारबाही नभएको दाबी गरे।

डा. क्षेत्रीले उक्त अनियमितता भएको समयमा डीडीसीका महाप्रबन्धक सञ्जीव झा रहेको र अहिले पनि संस्थानमा उनकै प्रभाव कायम रहेको आरोपसमेत लगाए।

यद्यपि, डा. क्षेत्रीले लगाएका आरोपबारे कृषि तथा पशुपन्छी विकास मन्त्रालय र डीडीसी व्यवस्थापनको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै