द भ्वाइस किड्स सिजन–५’को नेक्स्ट राउण्डमा हेटौँडाका आर्मोन कार्की
काठमाडौं।हेटौँडाका ११ वर्षीय प्रतिभाशाली बालगायक आर्मोन कार्की लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–५’ को ब्लाइन्ड अडिसन पार गर्दै नेक्स्ट राउण्डमा प्रवेश गरेका छन्।
ब्लाइन्ड अडिसनमा आर्मोनले स्वरसम्राट नारायण गोपालले गाएको देशभक्तिपूर्ण गीत “वीरताको चिनो वीरको सन्तान” प्रस्तुत गर्दै आफ्नो सशक्त गायन क्षमता प्रदर्शन गरेका थिए। उनको प्रस्तुतीले दर्शकसँगै कोचहरूलाई पनि प्रभावित बनाएको थियो। कोच मिलन नेवार र अर्जुन सापकोटाले कुर्सी फर्काएर उनलाई आफ्नो टिममा लिन इच्छा व्यक्त गरेका थिए।

टिम छनोटका क्रममा आर्मोनले मिलन नेवारलाई सम्मानपूर्वक धन्यवाद दिँदै अर्जुन सापकोटाको टिम रोजेका हुन्। कार्यक्रममा उपस्थित सबै कोचहरूले उनको स्वर, आत्मविश्वास र प्रस्तुतीको खुलेर प्रशंसा गरेका थिए।
हाल कक्षा ६ मा अध्ययनरत आर्मोन सानै उमेरदेखि संगीतप्रति आकर्षित छन्। नर्सरी कक्षामै विद्यालयको सांस्कृतिक कार्यक्रममा “यो नेपाली शिर उचाली” गीत प्रस्तुत गरेर उनले सबैको ध्यान तानेका थिए। त्यसयता विद्यालय, जिल्ला तथा प्रदेशस्तरीय विभिन्न गायन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले अनेकौं पुरस्कार जितिसकेका छन्।

गायनसँगै आर्मोन गिटार, हार्मोनियम र पियानो बजाउन पनि दक्ष छन्। उनी चित्रकलामा समेत रुचि राख्छन् र नेपाली तथा भारतीय चर्चित गायक–गायिकाका चित्र कोर्ने गर्छन्। उनले आफ्ना बुवालाई प्रेरणाको स्रोत मान्ने गरेका छन् भने स्वरसम्राट नारायण गोपाल र भक्तराज आचार्यलाई आफ्नो आदर्शका रूपमा लिन्छन्।
यसपटक ‘द भ्वाइस किड्स’मा आर्मोनकी बहिनी आध्या कार्कीले पनि सहभागिता जनाएकी थिइन्। उनले नारायण गोपालकै “यति धेरै माया दिई” बोलको गीत प्रस्तुत गरेकी थिइन्। यद्यपि उनी अर्को चरणमा पुग्न सफल भइनन्, उनको गायिकी र प्रस्तुतीको भने सबै कोचहरूले प्रशंसा गरेका थिए।

आर्मोनका बुबा पेशाले शिक्षक र आमा नर्स हुन्। उनीहरूले आफ्ना सन्तानमाथि कुनै पेशागत दबाब नदिई उनीहरूको रुचिअनुसार संगीत क्षेत्रमा अघि बढ्न निरन्तर प्रोत्साहन गर्दै आएका छन्। बदलिँदो समाजमा बालबालिकाको प्रतिभा र इच्छालाई सम्मान गर्ने अभिभावकका रूपमा कार्की परिवार प्रेरणादायी उदाहरण बनेको छ।
अब आर्मोनको लक्ष्य ‘द भ्वाइस किड्स नेपाल सिजन–५’ को उपाधि जित्दै नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्नु रहेको छ।












