OPPO A6s Pro नेपालमा सार्वजनिक, मूल्य ५६ हजार ९९९ रुपैयाँ
काठमाडौं।OPPO ले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन OPPO A6s Pro सार्वजनिक गरेको छ। कम्पनीले यो स्मार्टफोनलाई प्रिमियम डिजाइन, शक्तिशाली ब्याट्री, उच्चस्तरीय सेल्फी क्यामेरा र द्रुत चार्जिङ सुविधासहित नेपाली बजारमा ल्याएको हो।
OPPO A6s Pro मा ५० मेगापिक्सेलको १०० डिग्री फिल्ड अफ भ्यू (FOV) भएको अल्ट्रा–वाइड सेल्फी क्यामेरा दिइएको छ, जसले समूह सेल्फी र व्यक्तिगत तस्बिरलाई थप स्पष्ट र फराकिलो बनाउने कम्पनीको दाबी छ। फोनमा ६.५७ इन्चको १२० हर्ज रिफ्रेस रेटयुक्त एमोलेड (AMOLED) डिस्प्ले रहेको छ, जसको अधिकतम ब्राइटनेस १,४०० निट्ससम्म पुग्ने भएकाले घाममा पनि सहज रूपमा प्रयोग गर्न सकिने बताइएको छ।


फोनमा ७,०००mAh क्षमताको ब्याट्री र ८० वाट सुपरभूक (SUPERVOOC) फ्ल्यास चार्जिङ सुविधा रहेको छ। कम्पनीका अनुसार यो प्रविधिबाट फोन ६१ मिनेटमै पूर्ण रूपमा चार्ज गर्न सकिन्छ।
प्रोसेसरतर्फ मिडियाटेक हेलियो G100 म्याक्स चिपसेट प्रयोग गरिएको छ, जसले मल्टिटास्किङ, गेमिङ र दैनिक प्रयोगलाई सहज बनाउने कम्पनीको भनाइ छ। साथै, IP69K वाटर तथा डस्ट रेसिस्टेन्स रेटिङ भएकाले फोन पानी र धुलोबाट सुरक्षित रहने दाबी गरिएको छ।
फोटोग्राफीका लागि फोनमा ५० मेगापिक्सेल मुख्य क्यामेरासहित २ मेगापिक्सेलको सहायक क्यामेरा दिइएको छ। डिजाइनतर्फ ‘प्रिमियम थ्रीडी डाइनामिक ग्लो’ फिनिससहित लुमिना फरेस्ट र इक्लिप्स ब्लु गरी दुई रंगमा उपलब्ध गराइएको छ।


कम्पनीले सार्वजनिक गरेको जानकारीअनुसार ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको ओप्पो ए६एस प्रोको आधिकारिक मूल्य ५६ हजार ९९९ रुपैयाँ तोकिएको छ। यो स्मार्टफोन नेपालभरका आधिकारिक बिक्री केन्द्रमार्फत उपलब्ध हुनेछ भने ईएमआई सुविधासमेत प्रदान गरिएको छ।
साथै, जुलाई ३ देखि अगस्ट २, २०२६ सम्म फोन खरिद गर्ने ग्राहकका लागि दुई महिनासम्मको रिप्लेसमेन्ट नीति पनि लागू गरिएको कम्पनीले जनाएको छ।












