२७ कवाडी ट्रक नियन्त्रणमा : रोशन चौधरी–बिमल बोहोरा समूहमाथि उठेका अवैध असुलीका आरोपको अनुसन्धान तीव्र – Sagarmathapana:: Online News Portal

२७ कवाडी ट्रक नियन्त्रणमा : रोशन चौधरी–बिमल बोहोरा समूहमाथि उठेका अवैध असुलीका आरोपको अनुसन्धान तीव्र

   २०८३ असार १८ गते  

रोशन चौधरीमाथि यसअघि २२ ग्राम खैरो हिरोइन लागूऔषध कारोबार सम्बन्धी अनुसन्धान भएको तथा अदालतबाट अन्तरिम आदेश पाएर थुनामुक्त भएको विषय पनि पुनः चर्चामा

काठमाडौं।बिलबिजक तथा आवश्यक कागजातबिनै कवाडी सामग्री ढुवानी भइरहेको आशंकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा २७ वटा कवाडी बोकेका ट्रक नियन्त्रणमा लिएपछि कवाडी व्यवसायमा वर्षौंदेखि उठ्दै आएको अवैध कर असुली र संगठित नेटवर्कबारेको विवाद फेरि चर्चामा आएको छ।सशस्त्र प्रहरी बलले मंगलबार साँझ ललितपुरको सानेपाबाट १० वटा कवाडी बोकेका ट्रक नियन्त्रणमा लिएको जनाएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार आवश्यक बिलबिजक र कागजातबिना ठूलो परिमाणमा कवाडी सामग्री उपत्यका बाहिर लैजान लागेको सूचनापछि निगरानी बढाउँदा ती ट्रक नियन्त्रणमा लिइएका हुन्।

यसअघि मंगलबार बिहान नेपाल प्रहरीले पनि आवश्यक कागजात नभएका अन्य ट्रक नियन्त्रणमा लिएको थियो। दुवै निकायले नियन्त्रणमा लिएका गरी कुल २७ वटा ट्रक थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको स्रोतले जनाएको छ।

यस घटनासँगै कवाडी ढुवानीका क्रममा विभिन्न स्थानमा गैरकानुनी रूपमा रकम असुली हुँदै आएको आरोप फेरि चर्चामा आएको छ। प्रहरी स्रोतका अनुसार केही कवाड व्यवसायी र सम्बन्धित पक्षबाट प्राप्त उजुरीका आधारमा रोशन चौधरी समूह तथा बिमल बोहोरा समूहसँग सम्बन्धित गतिविधिबारे समेत अनुसन्धानको दायरा फराकिलो बनाइएको छ। यद्यपि अनुसन्धान जारी रहेकाले यस विषयमा कुनै आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन।


कवाडी व्यवसायसँग सम्बन्धित एक व्यवसायीले नाम नखुलाउने सर्तमा रोशन चौधरीले केही कवाडी व्यवसायी संघका प्रतिनिधिमार्फत प्रभाव विस्तार गरी विभिन्न स्थानमा रकम असुलीको नेटवर्क सञ्चालन गरेको आरोप लगाए। उनका अनुसार धादिङको धुनिबेसी नगरपालिकाको कर संकलनको ठेक्कालाई आधार बनाएर काठमाडौं उपत्यकाबाट बाहिरिने धेरैजसो कवाडी बोकेका प्रत्यक ट्रकबाट ३५ हजारदेखि ४५ हजार रुपैयाँसम्म रकम उठाइने गरेको दाबी छ।

व्यवसायीहरूले दैनिक करिब ३० लाख रुपैयाँसम्म गैरकानुनी रूपमा रकम संकलन हुने दाबी गरेका छन्। तर यो दाबी सम्बन्धित सरकारी निकायबाट स्वतन्त्र रूपमा पुष्टि भएको छैन।

यस्तै, नागार्जुन नगरपालिकाले केही दिनअघि अर्को स्थानीय तहको ठेक्का लिएको कम्पनीले आफ्नो क्षेत्रभित्र प्रवेश गरेर कर असुली गरेको भन्दै प्रहरीलाई जानकारी गराएको थियो। नगरपालिकाले घटनास्थलबाट भिडियो र रसिदसमेत संकलन गरेको जनाएको छ। यद्यपि तत्कालीन प्रहरी अधिकारीहरूले आवश्यक प्रमाण औपचारिक रूपमा प्राप्त नभएको बताएका थिए।

यसैबीच नागार्जुन नगरपालिकाको वैधानिक ठेक्का पाएको निशान ट्रेडर्सका कर्मचारीलाई कर संकलनका क्रममा प्रहरीले नियन्त्रणमा लिएपछि व्यवसायीहरूले कानुन कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा वैधानिक ठेक्का पाएको कम्पनीमाथि कारबाही हुने तर अन्यत्रबाट जबर्जस्ती रकम असुली गरेको आरोप लागेका समूहहरू लामो समयसम्म अनुसन्धानको दायरामा नआउनु शंकास्पद देखिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले अन्यत्र अवैध असुली भएको प्रमाण प्राप्त भए कानुनअनुसार आवश्यक कारबाही गरिने बताएका छन्।

व्यवसायीहरूले अहिले नियन्त्रणमा परेका २७ ट्रकको अनुसन्धानसँगै कवाडी व्यवसायमा सक्रिय भनिएका सम्पूर्ण अवैध असुली नेटवर्क, त्यसमा संलग्न व्यक्ति तथा कम्पनीहरूको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन्।

राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिइएका ट्रक, सम्बन्धित कम्पनी तथा संलग्न व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको बताएका छन्।

रोशन चौधरीमाथि लागूऔषध मुद्दासमेत चर्चामा

रोशन चौधरीमाथि यसअघि २२ ग्राम खैरो हिरोइन लागूऔषध कारोबार सम्बन्धी अनुसन्धान भएको तथा अदालतबाट अन्तरिम आदेश पाएर थुनामुक्त भएको विषय पनि पुनः चर्चामा आएको छ।

यसैबीच चौधरीका पिता बाबुनन कलवार चौधरी भारतीय नागरिक रहेको तथा झुटा विवरणका आधारमा नेपाली नागरिकता लिएको अभियोगमा अनुसन्धान भएको विवरण पनि सार्वजनिक भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै