१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा रास्वपासँग मानव अधिकार आयोगको स्पष्टिकरण माग
काठमाडौं।राष्ट्रिय मानव अधिकार आयोगले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्यता वितरण गरिएको भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग स्पष्टिकरण माग गरेको छ।
आयोगले विभिन्न स्रोत तथा सञ्चारमाध्यमबाट प्राप्त सूचनाका आधारमा गत सोमबार रास्वपाको केन्द्रीय कार्यालयलाई पत्राचार गर्दै उक्त विषयमा यथाशीघ्र विस्तृत जानकारी उपलब्ध गराउन निर्देशन दिएको हो।
आयोगका अनुसार यदि १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिइएको पुष्टि भएमा त्यो नेपालको प्रचलित कानुन तथा बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हुने देखिन्छ। सोही कारण राष्ट्रिय मानव अधिकार आयोग ऐनको दफा २१(१) अनुसार तथ्यसहितको जवाफ माग गरिएको आयोगले जनाएको छ।
हाल आयोगले यस विषयमा थप अध्ययन तथा आवश्यक विवरण संकलन गरिरहेको जनाएको छ। प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक निर्णय तथा सिफारिस गरिने आयोगको भनाइ छ।












