पूर्वसचिव किशोर थापा त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्त
काठमाडौं।प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालय का कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालय सेवा आयोग को अध्यक्षमा पूर्वसचिव किशोर थापालाई नियुक्त गरेका छन्। नियुक्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिस प्रक्रियापछि गरिएको हो।
किशोर थापाले सहरी विकास, शिक्षा तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायत विभिन्न निकायमा सचिवका रूपमा कार्यसम्पादन गरेका थिए। अवकाशपछि उनी तत्कालीन साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवारसमेत बनेका थिए।
विश्वविद्यालय स्रोतका अनुसार सेवा आयोगलाई थप प्रभावकारी, पारदर्शी र योग्यतामा आधारित बनाउने उद्देश्यका साथ थापालाई अध्यक्षमा नियुक्त गरिएको हो। यससँगै आयोगको सदस्यमा प्रा. डा. रेजिना मास्के पनि नियुक्त भएकी छन्।
यसअघि रिक्त रहेको सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन, मूल्यांकन र अन्तर्वार्तापछि तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा प्रधानमन्त्री तथा कुलपति शाहले थापालाई अध्यक्ष नियुक्त गरेका हुन्।












