इन्धन मूल्य घटेपछि काठमाडौंका निजी पेट्रोल पम्प बन्द, सरकारी पम्पमा उपभोक्ताको लामो लाइन
काठमाडौं- नेपाल आयल निगम (एनओसी) ले मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएपछि बुधबार काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बन्द भएका छन्। निजी पम्प सञ्चालकहरूले पुरानो महँगो मूल्यमा खरिद गरिएको मौज्दात बिक्री गर्दा घाटा हुने दाबी गर्दै बिक्री स्थगित गरेका हुन्।
निजी पम्पहरू बन्द भएपछि इन्धन भर्न चाहने सर्वसाधारणलाई सास्ती भएको छ। विशेषगरी भद्रकालीस्थित नेपाली सेनाद्वारा सञ्चालित पेट्रोल पम्पमा बिहानैदेखि सवारीसाधनको लामो लाइन लागेको देखिएको छ। केही सञ्चालनमा रहेका अन्य सरकारी तथा सार्वजनिक पम्पहरूमा पनि उपभोक्ताको भीड बढेको छ।

पेट्रोल पम्प सञ्चालकहरूले मूल्य समायोजन हुँदा पुरानो मौज्दातको क्षतिपूर्तिसम्बन्धी स्पष्ट नीति नभएसम्म नियमित बिक्री गर्न कठिन हुने बताएका छन्। तर नेपाल आयल निगमले बजारमा इन्धनको कुनै अभाव नरहेको स्पष्ट गर्दै कृत्रिम अभाव सिर्जना गरी बिक्री रोक्ने पम्पमाथि अनुगमन र आवश्यक कारबाही गरिने जनाएको छ।
यसअघि एनओसीले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको थियो। नयाँ मूल्य बुधबारदेखि लागू भएको हो।












