चमेलीको पोइ’को नयाँ पोस्टर सार्वजनिक,नारायण त्रिपाठीको अनौठो अवतार चर्चामा
१९ वर्षपछि ठूलो पर्दामा फर्किएका नारायण त्रिपाठी, ‘चमेलीको पोइ’को पोस्टरले तान्यो ध्यान
काठमाडौं।निर्देशक एभरेष्ट सूर्य बोहराको आगामी नेपाली फिल्म ‘चमेलीको पोइ’ को दोस्रो लुक्स पोस्टर सार्वजनिक भएपछि दर्शकमाझ चर्चा सुरु भएको छ। १६ असोजदेखि विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको नयाँ पोस्टरमा चर्चित हास्य कलाकार नारायण त्रिपाठीलाई फरक र रहस्यमय शैलीमा प्रस्तुत गरिएको छ।

‘प्रेम चरो’ उपनामले परिचित त्रिपाठी डेढ दशकभन्दा बढी समयपछि यही फिल्ममार्फत नेपाली रजतपटमा पुनरागमन गर्दैछन्। अमेरिका बसाइपछि फिल्म अभिनयबाट टाढिएका उनी नयाँ पोस्टरमा अर्धनग्न, चोटपटक लागेका, कपडा च्यातिएको र कुटाइ खाएर भागिरहेको अवस्थाको पात्रमा देखिएका छन्, जसले दर्शकको चासो बढाएको छ।
यसअघि सार्वजनिक फर्स्ट लुक पोस्टरले पनि ध्यान तानेको थियो। दोस्रो पोस्टरमा भने त्रिपाठीसँगै मुख्य कलाकार सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रामनारायण उपाध्याय, सुदीप कुँवर र उमेश राईलाई समेत समेटिएको छ।

धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्ममा कथा निर्देशक बोहराकै रहेको छ भने पटकथा तथा संवादमा शिवम् अधिकारीको सहकार्य रहेको छ। फिल्मको छायांकन मुस्ताङ, पोखरा र काठमाडौंमा गरिएको हो। प्रदर्शनअघि आगामी अगस्ट ९ मा अमेरिकाको टेक्सासमा विशेष शो आयोजना गरिने तयारी पनि गरिएको निर्माण पक्षले जनाएको छ।












