आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ सुरु, मौलिक भाषा र संस्कृतिको संरक्षणमा जोड – Sagarmathapana:: Online News Portal

आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ सुरु, मौलिक भाषा र संस्कृतिको संरक्षणमा जोड

   २०८३ जेष्ठ १८ गते  

काठमाडौं।चलचित्र विकास बोर्डको सहकार्य तथा आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३ आजदेखि काठमाडौंमा सुरु भएको छ। ‘आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित सुरु भएको महोत्सव १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

चलचित्र विकास बोर्डको सभाहलमा आयोजित समारोहमा बोर्डका अध्यक्ष दिनेशराज दाहालले मैनबत्ती बालेर महोत्सवको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रममा विभिन्न आदिवासी जनजाति समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।

आयोजकका अनुसार महोत्सव चलचित्र प्रदर्शनमा मात्र सीमित नभई आदिवासी जनजातिका भाषा, संस्कृति, इतिहास, लिपि, मिथक, सामुदायिक स्मृति, भू–चेतना, लोकज्ञान तथा सांस्कृतिक अस्तित्वलाई दृश्य–श्रव्य माध्यममार्फत संरक्षण र प्रवर्द्धन गर्ने अभियानका रूपमा अघि बढाइएको हो।

महोत्सवको पहिलो दिन सागर केरुङ निर्देशित ‘तङसिङ’, निमा लामा तामाङ निर्देशित ‘ह्याङ तामाङ’ र बिपना तामाङ भुजेल निर्देशित ‘निको पहिचान’ प्रदर्शन गरिएको छ।


महोत्सवमा नेवार, गुरुङ, मगर, माझी तथा राजवंशी समुदायसँग सम्बन्धित कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछ। कथानक चलचित्रतर्फ ‘रीत’, ‘स्वयनगु’, ‘ङोल्स्यो रामरानी’ र ‘दिलसरा’ समावेश छन् भने लघु चलचित्रतर्फ ‘दुखला ग्यम’, ‘जाइछै सौसरा’ र ‘लाहुरेनी’ प्रदर्शन हुनेछन्।

त्यस्तै वृत्तचित्रतर्फ ‘आग्रे’, ‘लदि पूजा’ तथा एआई जेनेरेटेड वृत्तचित्र ‘बिराटनगरके प्राचीन राजवंशी’ दर्शकमाझ प्रस्तुत गरिनेछ।

महोत्सवको समापनमा उत्कृष्ट लघु चलचित्र, उत्कृष्ट वृत्तचित्र तथा कथानक चलचित्रका विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै