काठमाडौं।भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा शनिबार सम्पन्न ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ को अवार्ड समारोहमा चलचित्र ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड जित्दै महोत्सवमा आफ्नो बलियो उपस्थिती दर्ज गराएको छ।
आर्टमाण्डू नेपालद्वारा निर्मित उक्त चलचित्र उत्कृष्ट फिचर फिल्म घोषित भएको हो। यही चलचित्रबाट अभिनेता विपिन कार्की उत्कृष्ट अभिनेता तथा नवीन चौहान उत्कृष्ट निर्देशक घोषित भए। पहिलो चलचित्रबाटै उत्कृष्ट निर्देशकको अवार्ड हात पार्न सफल नवीन चौहानले आफ्नो कामको मूल्याङ्कन भएको भन्दै आयोजकप्रति आभार व्यक्त गरे।


यसैगरी चलचित्र ‘जेरी अन टप’बाट जसिता गुरुङ उत्कृष्ट अभिनेत्री घोषित भइन्। आफ्नो जीवनकै पहिलो अवार्ड प्राप्त गरेपछि उनले खुशी व्यक्त गर्दै उक्त सम्मान सम्पूर्ण दर्शकप्रति समर्पण गरिन्। अभिनेता पल शाहलाई ‘सोसियल आइकन एक्टर अवार्ड’ प्रदान गरिएको थियो। अवार्ड ग्रहणपछि उनले यस सम्मानले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।


महोत्सवमा कर्णाली एडिसन अवार्ड (निर्देशक) राज बहादुर सानेले प्राप्त गरे भने उदीयमान चलचित्र निर्माता तथा वितरक अवार्ड आशिष तामाङलाई प्रदान गरिएको थियो। मुगुको फ्लाइङ फिदर फिल्म्सद्वारा निर्मित ‘ह्याप्पिनेस’ उत्कृष्ट सर्ट फिल्म घोषित भयो। साथै ‘प्रेम गीत २’का निर्माता सन्तोष सेनलाई कर्णाली भिजनरी अवार्डबाट सम्मान गरिएको थियो।
महोत्सवका सल्लाहकार तथा पूर्व रजिष्ट्रार डा. महेन्द्र कुमार मल्लको अध्यक्षतामा सम्पन्न समारोहको प्रमुख आकर्षण “इतिहासलाई फर्केर हेर्दा – पहिलो चलचित्र अवार्ड संवाद” रहेको थियो। वरिष्ठ कलाकार नरेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त संवाद कार्यक्रमलाई वरिष्ठ निर्देशक तथा चलचित्र इतिहासकार प्रकाश सायमीले सहजीकरण गरेका थिए। कार्यक्रममा वरिष्ठ अभिनेता शिव श्रेष्ठ र वरिष्ठ अभिनेत्री शर्मिला मल्लले नेपाली चलचित्र क्षेत्रका आफ्ना अनुभव साझा गरेका थिए।


समारोहमा महोत्सव निर्देशक चक्र बहादुर चन्दले कर्णालीको कला, संस्कृति र पर्यटन सम्भावनालाई चलचित्रमार्फत विश्वसामु चिनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए। नेपाल पर्यटन बोर्डका वरिष्ठ म्यानेजर सूर्य थपलियाले चलचित्र र पर्यटनबीचको सम्बन्ध तथा पर्यटन प्रवर्द्धनमा चलचित्र क्षेत्रको भूमिकाबारे धारणा राखेका थिए।
कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष कृष्ण मल्ल, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाज नेपालका अध्यक्ष अरुण प्रधान, अभिनेत्री रेखा थापा, कलाकार हिमेश पन्त, अभिनेता दिल श्रेष्ठ, गीतकार हर्क साउद, अभिनेत्री सुरक्षा पन्तलगायत चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
महोत्सवकी संरक्षक भवानी राणाले आयोजक संस्था ‘रेड चेरी मिडिया’लाई आगामी वर्षहरूमा पनि महोत्सवलाई निरन्तरता दिन शुभकामना दिइन्। सल्लाहकार डा. महेन्द्रकुमार मल्लले आगामी संस्करणहरूलाई अझ परिष्कृत र जिम्मेवार बनाइने बताए।
यस वर्षको ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ वैशाख १२ गते सुर्खेतबाट सुरु भएको थियो। महोत्सवअन्तर्गत सल्यानको कुपिण्डे दह परिसरमा ‘कुपिण्डे दह चलचित्र तथा पर्यटन महोत्सव’ समेत आयोजना गरिएको थियो।



