रसुवाको गतलाङमा ड्रोनबाट बीउ छर्ने योजना, उजाड वन फेरि हरियाली बनाइने
काठमाडौं।रसुवाको गतलाङ क्षेत्रमा डढेलोले उजाड बनाएको वनलाई पुनः हरियाली बनाउन आधुनिक प्रविधिको प्रयोग गरिने भएको छ। डिभिजन वन कार्यालयले ड्रोनमार्फत वनस्पतिका बीउ छर्ने तयारी थालेको हो।
विसं २०६५ मा भीषण आगलागीका कारण यस क्षेत्रका सल्ला, लालीगुराँस, धुपी, खस्रु लगायत हजारौँ वनस्पति नष्ट भएका थिए। कठिन भौगोलिक अवस्थाका कारण परम्परागत तरिकाले पुनःवनरोपण गर्न समस्या भएपछि अहिले ड्रोन प्रविधि प्रयोग गर्ने निर्णय गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख शम्भु तामाङका अनुसार स्थानीय हावापानी अनुकूल वनस्पतिका बीउ संकलन कार्य तीव्र रूपमा भइरहेको छ। “आगामी जेठको अन्तिम सातादेखि ड्रोनमार्फत बीउ छर्ने काम सुरु हुनेछ,” उनले बताए।
यस अभियानका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), वन विज्ञान अध्ययन संस्थान तथा डिभिजन वन कार्यालयबीच त्रिपक्षीय सहकार्य गरिएको छ। डढेलोबाट प्रभावित ४५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा १०० हेक्टर जमिनमा बीउ छर्ने योजना बनाइएको छ।
वन कार्यालयका अनुसार आगलागीबाट करिब १६ हजारभन्दा बढी सल्ला तथा अन्य बहुमूल्य प्रजातिका रुख नष्ट भएका थिए। यद्यपि, हालसम्म पुनःस्थापनाअन्तर्गत ३० हजारभन्दा बढी बिरुवा रोपिएको छ, जसमा करिब २५ हजार बिरुवा रसुवागढी जलविद्युत् आयोजनाले उपलब्ध गराएको हो।
जिल्लामा हाल ६८ वटा सामुदायिक वनमार्फत संरक्षण कार्य अघि बढाइएको छ। भिरालो भूगोल, हुरीबतास र दुर्गम क्षेत्रका कारण डढेलो नियन्त्रण चुनौतीपूर्ण रहे पनि वन कार्यालयले चेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।
त्रिशूली नदीपारि फैलिएको उक्त वन क्षेत्र मालागढीदेखि अधेरी खोलासम्म फैलिएको छ, जसले थुमन, तातोपानी, चिलिमे, गोल्जुङ, गतलाङ, हाकु लगायतका गाउँसँग प्रत्यक्ष सम्बन्ध राख्छ।
ड्रोन प्रविधिको प्रयोगले वन पुनःस्थापनामा नयाँ आशा जगाएको स्थानीयको विश्वास छ।












