नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति पाएसँगै ‘गरिमा सुवर्ण योजना’सार्वजनिक निष्काशनमा आउने
काठमाडौं।गरिमा म्युचुअल फण्ड अन्तर्गत गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रु. १ अर्ब बराबरको पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिक निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त भएको छ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृत यस योजना विकास बैंक कोष प्रवद्र्धक रहने गरी निष्काशन हुन लागेको नेपालकै पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना भएको बताइएको छ। प्रारम्भिक चरणमा रु. ५० करोड बराबरको प्रति इकाई रु. १० दरले ५ करोड इकाई बिक्रीका लागि सार्वजनिक निष्काशन गरिनेछ। योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।
यसअघि सोही कोष प्रवद्र्धक र योजना व्यवस्थापकमार्फत सार्वजनिक निष्काशन गरिएको रु. १ अर्ब २५ करोड बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना “गरिमा समृद्धि योजना” हाल सञ्चालनमा रहेको छ।
गरिमा समूहले नयाँ खुलामुखी योजना मार्फत लगानीकर्तालाई थप लगानी अवसर उपलब्ध गराउने तथा पूँजी बजारको विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।












