‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक
काठमाडौं- नयाँ नेपाली फिल्म ‘एक्टर: टेक वन’ को पहिलो गीत ‘दिन बित्ला’ सार्वजनिक भएको छ । रोमान्टिक भावको यस गीतमा सनिश श्रेष्ठ र प्रीति कौरको आवाज छ भने शब्द राजेश कुमार श्रेष्ठ र सङ्गीत एलिश कार्कीले दिएका छन् ।
शैलेन्द्र प्रधान (बाबु) ले एरेन्ज गरेका गीतले प्रेममा रहेका दुई व्यक्तिको सम्बन्धलाई समयको यात्रासँग जोडेर प्रस्तुत गरेको छ, जसले उनीहरूको जीवनभरको साथको भावना व्यक्त गर्छ ।
यो फिल्मबाट अभिनय यात्रा थालेकी दिव्यालाई ‘बोल्ड एन्ड ब्यूटिफूल’ रूपमा प्रस्तुत गरिएको छ । उनी अभिनेता दिलीप रायमाझीकी छोरी हुन् र अमेरिकाबाट नेपाल फर्केर आफ्नो करियरको सुरुआत गरेकी हुन् । गीतको भिडियोमा प्रदिप र दिव्याको केमेस्ट्रीले दर्शकलाई मोहित बनाउने अपेक्षा गरिएको छ ।
फिल्म ‘एक्टर: टेक वन’ को टीजर पहिले नै लोकप्रिय बनेको छ, जसले दर्शकहरूको उत्सुकता र अपेक्षा बढाएको छ । अब सार्वजनिक गरिएको ‘दिन बित्ला’ गीतले दर्शकको आशालाई थप बलियो बनाउने विश्वास गरिएको छ ।
यो फिल्मलाई राजन भुसालले निर्देशन गरेका छन् र स्क्रिप्ट आकाश बराल र राजन भुसालको रहेको छ । प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालासहित दिव्य देव, उषा रजक, र सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको यो चलचित्र अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुति हो । निर्माता थमन कुमार भण्डारी, सह-निर्माता अनीश भुसाल र क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।












